मगर बाहुल्य विद्यालयहरुमा मगर भाषा शिक्षा लागु गर्ने माग
- कमला राना मगर –

कावासोती । नवलपुर जिल्ला भित्र मगर समुदायका विद्यार्थीहरुको बाहुल्य रहेको विद्यालयहरुमा मगर भाषा शिक्षा लागु गर्ने नेपाल मगर संघ जिल्ला समन्वय समीति नवलपुरको बैठकले निर्णय गरेको छ ।
सोमबार कावासोतीमा बसेको जिल्ला स्तरीय विस्तारित बैठकले नेपालको सविधानमा उल्लेख भए अनुसार आउदो आर्थिक वर्ष २०७६।०७७ साल देखि मगर विद्यार्थीहरुको बाहुल्यता रहेको नवलपुर क्षेत्रमा मगर भाषा शिक्षा लागु गर्ने निर्णय गरेको हो ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष इन्द्र फाल मगरको सभापतित्वमा बसेको बैठकले आगामी माघ ९ गतेबाट शुरु हुन गइरहेको छैठौ नवलपुर महोत्सवलाई समेत सहयोग गर्ने निर्णय गरेको छ ।
यसैगरी नेपाल मगर संघ जिल्ला समन्वय समीति नवलपुरले यही आउदो माघ २५ गते प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । गण्डकी प्रदेश सदस्य, जिल्ला सदस्य, नगर सदस्य तथा भातृ सस्थाका सम्पूर्ण सदस्यहरु सहित तल्लो इकाइका सदस्यहरुको लागि एक दिने प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
नेपाल मगर संघ केन्द्रीय सदस्य लिला मास्की राना मगरको प्रमुख आतिथ्यता रहको बैठकले आउँदो फागुन २ गते नेपालको प्रथम शहीद लखन थापा मगरको स्मृति दिवसमा कावासोती नगरपालिका वडा नम्बर १ मा रहेको पोखरी तालमा शालिक स्थापना गर्ने समेत निर्णय गरेको छ ।
नेपाल मगर संघ जिल्ला समन्वय नवलपुरका वरिष्ठ उपाध्यक्ष मेख बहादुर सारु मगरको धन्यवाद ज्ञापन रहेको बैठकमा नेपाल मगर संघ गण्डकी प्रदेश सचिव देवीसरा पुलामी मगर सहित गण्डकी प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु, भातृ सस्थाका सदस्यहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव भुम राइले गरेका थिए ।