नवलपरासीका उखु किसानले अझै ३३ करोड रकम भुक्तान पाएनन
सरकार र उद्योगीबीचको सहमति पछि १ करोड मात्र भुक्तान

नवलपरासी, ७ माघ । सरकार, चिनी उद्योगी र किसानबीच माघ ७ गतेभित्र उखु किसानका सम्पूर्ण रकम भुक्तान गर्ने सहमति भएको थियो तर, नवलपरासीका उखु किसानहरुले माघ ७ नाघ्दा पनि ३३ करोड रुपैयाँ अझै पनि भुक्तान पाएका छैनन् ।
सहमति अनुसार पुस २५ गतेभित्र ८० प्रतिशत रकम भुक्तान गर्ने र माघ ७ गते भित्र बाँकी सबै रकम भुक्तान गर्ने सहमति भएपनि नवलपरासीका उखु किसानहरुले पाउनु पर्ने ३३ करोड रुपैयाँ मध्ये १ करोड मात्र भुक्तान पाएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्या उमेश यादवले बताए ।
नवलपरासीमा ३ वटा चिनी मिल तथा उद्योगहरु रहेकोमा इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रीबाट १४ करोड, बागमति खाडसारी चिनी मिलबाट ९ करोड र लुम्बिनी चिनी कारखाना सुनवलबाट ११ करोड रुपैयाँ भुक्तान पाउँन बाँकी रहेकोमा इन्दिराले ४० लाख र बाग्मतीले ६० लाख भुक्तान गरेको यादवले बताए ।
उक्त रकम पनि दुई बर्ष अघिको किसानलाई भुक्तान गर्ने बाँकी ३ करोड मध्येको हो ।
यादवका अनुसार लुम्बिनी चिनी कारखानाका सञ्चालकहरु अझै सम्पर्कमा आएका छैनन् । लुम्बिनी चिनी कारखाना बन्द छ । सञ्चालकहरुले व्यवस्थापन र उखुको अभाव देखाउँदै लुम्बिनी चिनी कारखाना बन्द गरेको छ ।
त्यसैगरी इन्दिरा सुगर मिलमा स्थानीय किसानहरुले ताला लगाइदिएपछि मिल सञ्चालनमा आंउँन सकेको छैन भने बागमति खाडसारी मिल मात्र सञ्चालनमा रहेको छ ।
उखु किसानले दुई बर्ष अघिको ३ करोड र गत बर्षको ३१ करोड गरी ३४ करोड भुक्तान पाउँन बाँकी थियो ति मध्ये १ करोड मात्र भुक्तान पाएको छ ।
बागमती र लुम्बिनी चिनी उद्योगका सञ्चालक खोज्न गृहलाई पत्राचार