हुप्सेकोट दुर्घटनाः दोषीलाई बचाउन खोजियो, कारवाही होस्ः स्थानीय
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले त्यसको व्यापक विरोध गरेका छन् ।
सरकारी गाडीको दुरुपयोग गर्दै हुप्सेकोट गाउँपालिकाका अधिकृत शिव सुवेदीले सवारी सञ्चालन गर्न सिक्ने क्रममा १ जनाको मृत्यु र तीन जना घाइते हुने गरी दुर्घटना गराएपछि स्थानीयले त्यसको व्यापक विरोध गरेका हुन् ।
हुप्सेकोटका स्थानीयले मंगलबार राति र बुधबार दिनभर हुप्सेकोट गाउँपालिकाको कार्यालय अगाडि प्रदर्शन गरे ।
उनीहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेर विरोध गरेका छन् भने अधिकृत शिव सुवेदीलाई कारवाहीको माग गरेका छन् ।
उनले कार्यालयमा चालक नभएको बेला आफैले जिप चलाएर दुर्घटना गराएका थिए ।
गाउँपालिकाका कर्मचारी (अधिकृत) शिव सुवेदीले हुप्सेकाट गाउँपालिकाकोे उपाध्यक्ष र प्रमुख प्रशाशकीय अधिकृत चढ्ने ग १ ज ३८९ नम्बरकोे जीप लिएर सिक्न जाँदा दुर्घटना भएको हो ।
हुने गाउँपालिकाको मुख्य बजार र मुख्य सडकमा सवारी चलाएका थिए । जसका कारण बुंदीकालीको कुवाकोट घर भई हाल हुप्सेकोट गाउँपालिकाको भूपू शैनिक इंलिस बोडिड्ड स्कूलमा अध्ययन गर्ने हाल हुप्सेकोट गाउँपालिकाको नयाँ बजारमा बस्दै आएका बालक दीपु गाहाको निधन भएको हो ।
दुर्घटनामा बालकका आमा २७ बर्षीय मीना गाहा घाईते भएका छन् भने गाउँमा मिस्त्री काम गर्दै आएका ५५ बर्षीय भिमबहादुर लुङ्गेली पनि गम्भीर घाइते छन् । मृतक बालकका बुवा वैदेसिक रोजगारीको शिलशिलामा विदेश गएका छन् ।
हुप्सेकोट गाउँपालिका ५ का वडा अध्यक्ष पदमबहादुर राना चढेको मोटरसाइकललाई ठक्कर दिंदै जीपले बाटोमा रहेको मिस्त्रीलाई समेत घाइते बनाउँदै जीप घरमा ठोक्किन पुगेको थियो ।
स्थानीयले घटनाको विरोधमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिदिएका छन् भने स्थानीयले हुप्सेकोटकोे झ्यालबास बजार बन्द गराएका छन् भने यातायात समेत बन्द गराएका छन् ।
गाडीका चालक नभएको र गाउँपालिकाका कर्मचारी (अधिकृत) शिव सुवेदीले गाडी सिक्ने क्रममा दुर्घटना भएको स्थानीयले जनाएका छन् । स्थानीयले घटनाका दोषी अधिकृत सुवेदीलाई कारवाहीको माग गरेका छन् ।
सुवेदीलाई बचाउ गर्न खोजिएको र दोषीलाई अझैसम्म पक्राउ नगरिएको भन्दै स्थानीय बढी आक्रोसित भएका हुन् ।
उनीहरुले मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, घाइतेहरुको उपचार गर्नु पर्ने, दोषीलाई कानुनी कारवाही गर्नु पर्ने लगायतका माग राखेका छन् ।
स्थानीयले गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले घटना प्रति कुनै सहानुभूति नजनाएको भन्दै त्यसको पनि विरोध गरेपछि अध्यक्ष पाण्डे छलफलमा सहभागी भएका थिए ।
स्थानीय बासिन्दाका अनुसार पाण्डे मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेलाई उपचारको व्यवस्था गाउँपालिकाको खर्चबाट गर्ने भने पनि स्थानीयले पीडकले नै क्षतिपूर्ति व्यहोर्नु पर्ने र उनले नै उपचार खर्च गर्नु पर्ने माग राखेपछि स्थानीय र गाउृँपालिकाबीचको छलफल सहमतिमा पुग्न नसकेको हो ।
छलफल सहमतिमा नपुगेपछि स्थानीयले गाउँपालिकामा लगाइदिएको ताला खुल्न सकेको छैन ।
अधिकृत सुवेदी अझै फरार
दुर्घटनाका मुख्य दोषी मानिएका अधिकृत शिव सुवेदीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । स्थानीय र पीडितका परिवारले सुवेदीको नाममा जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिएका छन् तथापि प्रहरीले उनलाई अझै पक्राउ गरेको छैन ।
स्थानीयले सुवेदीलाई बचाउनका लागि गाउँपालिका प्रशासनले सुवेदी बचाउ गरेकोले उनी पक्राउ पर्न नसकेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहनप्रसाद पोख्रेलले दुर्घटनाका दोषीको खोजी भईरहेको तर पक्राउ पर्न नसकेको बताए ।
अध्यक्षले स्थानीयसँगको छलफलमा सत्यतथ्य खुलाएर कारवाही गर्ने प्रतिबद्धता जनाए पनि अध्यक्षले दोषीको नाम किटानी नगरेको भन्दै स्थानीयले अध्यक्षको प्रस्तावमा असहमित जनाएका थिए ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपा गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।
नेकपा हुप्सेकोट अध्यक्ष चन्द्रबहादुर थापाले विज्ञप्ति जारी गर्दै स्थानीयको विरोध माथि भएको प्रहरी हस्तक्षेप बन्द गर्नु पर्ने, दोषीलाई कारवाही गर्नु पर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, घाइतेको उपचारको व्यवस्था गर्नु पर्ने लगायतका माग गरेका छन् ।