दुई तिहाईको सरकारले उपलब्धीमूलक काम गर्न सकेनः गगन थापा

देवचुली (नवलपरासी), १३ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले दुई तिहाईको वर्तमान सरकारले कुनै उपलब्धी मुलक काम गर्न नसकेको आरोप लगाएका छन् ।
पूर्व मन्त्री समेत रहेका थापाले वर्तमान सरकार नै नेपाली जनताको पक्षमा नरहेको आरोप लगाउँदै सरकारले नेपाललाई कुन बाटोमा हिडाउँदै छ पत्तै पाउन मुस्किल हुन लागेको बताए ।
उनले भने – ‘नेपालमा यति बेला केपी ओली प्रधानमन्त्री भएको सरकार इतिहासमै सबैभन्दा बलियो सरकार हो तर, पनि यो सरकारले नेपाली जनताको पक्षमा कुनै काम गर्न सकेन, यसले आशा लाग्दो कुनै पनि काम देखाउन सकेन ।’
त्यसैगरी उनले नेपाली काग्रेसले पनि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकोले नेपाली लोकतन्त्र र नेपाली नागरिक अप्ठ्यारोमा परेको बताए ।
सोमबार पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा देवचुली जेसिजको पदहस्तान्तरण कार्यक्रममा बोल्दै उनले युवाहरुलाई विदेश पलायन हुनबाट नरोकेसम्म मुलुक परिवतर्नन हुन नसक्ने समेत दावी गरे ।
नेपाली युवायुवती रोजगारको शिलशिलामा वा अन्य कुनै शिलशिलामा विदेश पलायन भैरहँदा मुलुकले ठुलो नोक्सान ब्यहोर्नु परेको बताउँदै उनले युवाहरुको विदेश पलायन रोक्न सरकार नै गम्भीर हुनु पर्नेमा थापाले जोड दिए ।
काग्रेंसका केन्द्रीय सदस्य तथा सांसद थापाले भने – मुलुकमा धेरै ठूला परिवर्तन भए, राणा, राजा, पंचायत ढले गणतन्त्र आयो तर खोई उपलब्धी, खोई बिकास? जबसम्म युवाहरुमा चेतना र मुलुकको लागि केही गर्नुपर्दछ भन्ने भावनाको बिकास हुन्न तबसम्म जस्तो सुकै परिवर्तन भए पनि त्यसले अर्थ राख्दैन ।
उनले नेपालमा गणतन्त्र आइसक्दा पनि युवाहरुका लागि मुलुकमै रोजगारी सिर्जना गर्न नसक्नु विडम्बना भएको बताउँदै विदेशिएका युवा पलायन रोक्न नसकेसम्म मुलुक समृद्ध नहुने बताए ।
हरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य महेन्द्रध्वज जिसी, देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
