तनहूमा चितुवा आतंक, फेरि एक जना बालकको ज्यान गयो


तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–४ लोहीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका शुकबहादुर विकका छोरा ११ वर्षीय इशाक विक सुनार रहेको प्रहरीले जनाएको छ । आज करीब साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका छोरा इशानलाई बाटैबाट चितुवाले झम्टेर लगेको हो ।



घटनास्थलबाट करीब ८० मिटर तल मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ । केही समयअघि पनि आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा एक बालकको मृत्यु भएको थियो । तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाले आतङ्क मच्चाएपछि तनहुँवासीमा त्रास छाएको छ ।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा यस घटनासहित नौ बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।



सम्बन्धित
Loading...