आजदेखि नेकपा केन्द्रीय कमिटी बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ। आज (बुधबार)देखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभागले जनाएकाे छ ।
पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो । नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।
पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एकपटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न लागेको हो। विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसैगरी विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन् ।