‘ए’ डिभिजन लिगमा आज मनाङ र संकटा भिड्दै

गत वर्षको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी र उपविजेता संकटा क्लबबीच आज ए डिभिजन लिगमा भिडन्त हुने भएको छ।आज हुने एकमात्र खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदो बाटोमा हुनेछ ।
मनाङको लागि दोस्रो स्थानमा उक्लने अवसर पनि छ । ८ खेलबाट १६ अंकसहित मनाङ तेस्रो स्थानमा छ। ९ खेलबाट २० अंकसहित आर्मी पहिलो र समान खेलबाट १९ अंक जोड्दै मछिन्द्र दोस्रोमा छ । मनाङले यी दुवै क्लबसँग खेलिसकेको छ ।
उता, ८ खेलबाट १२ अंकसहित संकटा सातौं स्थानमा छ। मनाङलाई पराजित गर्ने सके संकटा पनि चौथो स्थानमा उक्लनेछ । गत वर्ष दोस्रो भएकाले यस सिजन पनि दोस्रो नै हुने लक्ष्य रहेको संकटाका प्रशिक्षक विजय महर्जनले पहिलो खेलपछि बताएका थिए ।
संकटाले ८ मध्ये ३ खेल जित्दा ३ बराबरी खेलेको थियो भने दुई खेलमा हार व्यहोरेको थियो ।