रिहालगत्तै अदालतको गेटबाटै विप्लव समूहका कार्यकर्ता पक्राउ

बुटवल : नेत्रविक्रम चन्द ‘विप्वल’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकता अदालतको आदेशमा रिह भएलगत्तै पुनः पक्राउ परेका छन्। बुटवलस्थित तुलसीपुर उच्च अदालतको बुटवल इजलासको आदेशबाट रिहा भएका बालकृष्ण शर्मा र प्रदीपबहादुर वली अदालतकै गेटबाट पक्राउ परेका हुन्।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले शर्मा र वलीमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको बताए। गत असोज २९ मा दाङबाट पक्राउ परेका नेकपाका २१ जना कार्यकर्तामध्ये शर्मा र वलीलाई माघ ८ मा जिल्ला अदालत दाङले धरौटीमा रिहा गरे पनि प्रहरीले तत्कालै पक्राउ गरेको थियो। उनीहरुमाथि नवलपरासीमा प्रहरीलाई अभद्र व्यवहार गरेको मुद्दा दायर गरिएको थियो।
नवलपरासीमा गरिएको मुद्दा झुटा र थुना गैरकानुनी रहेको भन्दै डिल्लीबहादुर वलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। मुख्य न्यायाधीश बाबुराम रेग्मी र दुर्गाबहादुर विकको संयुक्त इजलासले अभद्र व्यवहारको मुद्दा विश्वासलायक नरहेको कारण जनाउँदै थुनामुक्त गर्न आदेश दिएको थियो।