प्रदेश ५ ले पश्चिम नवलपरासीमा सडक निर्माणका लागि ३८ करोड खर्चदै
- गोपी ज्ञवाली –

नवलपरासी, १५ माघ । पश्चिम नवलपरासीको सडक निर्माणमा पाँच नम्बर प्रदेश सरकारले ठुलो रकम विनियाजित गरेको छ ।
प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पुर्वाधार विकास कार्यालायले यस आर्थिक वर्षमा नवलपरासीका विभिन्न स्थानका सडकहरुको निर्माण एवं मर्मतका लागि ३७ करोड ९५ लाख ६१ हजार रुपियाँ विनियाजित गरेको सडक पुर्वाधार विकास कार्यालय भैरहवाका सिनियर डिविजन ईन्जीनियर ललित न्यौपानेले बताए ।
प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयले नवलपरासीका लागि सिंचाईमा २१ करोड २४ लाख ९१ हजार, खानेपानीका लागि १३ करोड ४७ लाख, आवास तथा बस्तीविकासका लागि १६ करोड ८५ लाख, स्थानिय तहहरुलाई शसर्त छ करोड ४५ लाख रुपियाँ विनियाजन गरेको छ भने सडक निर्माण एवं मर्मतका लागि ३७ करोड ९५ लाख ६१ हजार रुपियाँ विनियाजिन गरेको सडक पुर्वाधार विकास कार्यालय भैरहवाका सिनियर डिविजन ईन्जीनियर न्यौपानेले बताए ।
पश्चिम नवलपरासीको सुनवलदेखि सुस्ता सम्मका विभिन्न स्थानका लागि २५ वटा नयां सडक निर्माण एवं सात वटा सडक मर्मतका लागि भन्दै प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयले यो रकम विनियोजन गरेको हो । २० लाखको लगानी देखी १० करोड सम्मका लागतका २५ वटा सडकहरु यस आर्थिक वर्षमा बन्ने बताईएको छ ।
पश्चिम नवलपरासीको जमुना चोक देखी मझौनी सम्म बन्ने सडकलाई २० लाख रुपियाँ विनियोजित गरिएको छ भने सुनवलको तुरिया खोला पुल देखी रामग्राम नगरपालिकाको तोनवा सम्म जोडने १६ किलोमिटरको सडक निर्माणका लागि १० करोड सम्मको रकम विनियोजन गरिएको छ ।
यसैं गरि जिल्लाको सरावल गाउँपालिका पहुच मार्गलाई तीन करोड ५० लाख, बासाबसाई देखी पिपरहिया महेशपुर सडकलाई एक करोड ५० लाख, सिमाना देखी महलवारी प्रतापुर बद्रीघाट सम्मको सडकलाई एक करोड ५० लाख, रामग्रामको पोखरापाली देखी सुनवलको बैरगनाथ सम्मको सडकलाई एक करोड, भुमही प्रतापपुर घुर्कोट सडकलाई एक करोड लगाएतको रकम विनियोजित गरिएको सडक पुर्वाधार विकास कार्यालय भैरहवाले जनाएको छ ।
उक्त रकम विनियोजन भएका अधिकांश सडकहरुमा सडक निर्माणको काम शुरु भएको छ भने कतिपय सडकहरुको निर्माणका लागि ठेक्का प्रकृयामा अघि बढेको सडक पुर्वाधार विकास कार्यालयका प्राविधिक अधिकृत तेज प्रसाद अधिकारीले बताए ।