फस्ट लुक्समा आयो फूलमानको नीरफूल
सञ्चारर्मी फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ आगामी ३० फागुनबाट रिलिज हुने भएको छ । यो चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राजलगायतले अभिनय गरेका छन् । यसै क्रममा चलचित्र ‘नीरफूल’ले फस्ट लुक्स (पोस्टर) सार्वजनिक गरेको छ । नीरफूलको आइतबार चारवटा पोस्टर रिलिज गरिएको हो ।
फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा रहेको बताइए पनि पोस्टरमा उनी समेटिएकी छैनन् । यो चलचित्र भूकम्पका कारण बिछोडिएका एक परिवारको प्रेमकथा आधारित रहेको निर्देशक फूलमान बलले बताएका छन् । भूकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रको संघर्ष र विछोड देखाइएको छ । चलचित्रको छायांकन गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा गरिएको हो ।
यो चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको निर्देशक वलले बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसका रूपमा हुने उनको दाबी छ ।
यो चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक बल स्वयंले लेखेका हुन् भने सचिन एसोसियट निर्देशकका रूपमा पनि छन् । फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा दुबईकी डोमा सोनाम छिन् ।
जसमा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।
