बहुभाषिक रचना बाचन कार्यक्रम
- प्रेमध्वज गाहा –

कावासोती । शुक्रबार बिश्वभर बिभिन्न कार्यक्रम गरी २१ औँ अन्तराष्ट्रिय मातृभाषा दिवस मनाइएको छ । नेपालमा पनि यस अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यसैबीच नेपाल मगर लेखक सँघ पुर्बी नवलपरासीले बहुभाषिक रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ ।
गैँडाकोट ५ स्थित जनज्योति महिला समुहको सभाहलमा सम्पन्न कार्यक्रममा अध्यक्ष टक बिरकट्टाको अध्यक्षता रहेको थियो भने नेपाल मगर सँघकी केन्द्रिय सदस्य लीला मास्की रानाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल मगर लेखक सँघ गण्डकी प्रदेशका उपाध्यक्ष खड्क आले मगर , लेखक तथा साहित्यकर्मी महेन्द्र थापा मगर , साहित्यकर्मी भोज बिबश खण्डलुक लगायतको बिशेष आतिथ्यता रहेको थियो । मातृभाषाहरुको सँरक्षण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा मगर , नेपाली , थारु , तामाङ, तथा नेवारी भाषाका साहित्यिक रचनाहरु बाचन भएका थिए । कार्यक्रमको सँचालन नेपाल मगर लेखक सँघ नवलपुरका सह सचिव याम सारु मगरले गरेका थिए ।
सन् २००० देखि संयुक्त राष्ट्र संघले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई फेब्रुअरी २१ लाई अन्तर्रा्ष्ट्रिय मातृभाषा दिवसको रुपमा मनाउन आग्रह गरेको थियो । बिश्वमा करिव ८ हजार भाषाहरु बोलिने गरेको तथ्याँक छ । तर सम्बन्धित सरोकार वालाहरुको बेवास्ताका कारण मातृभाषाहरु बिस्तारै लोप हुँदै गएका छन् । एक तथ्याँकका अनुसार हरेक चौध दिनमा बिश्वबाट एउटा भाषा मर्ने गर्दछ । तर राज्य सरकार भने मातृभाषा जोगाउन प्रति उदासीन देखिन्छ । नेपालमा पनि पछिल्लो जनगणना अनुसार १२३ भाषा बोल्ने गरिन्छ ।
त्यसमध्ये कतिपय भाषा लोप हुने खतरामा छन् । मातृभाषा दिवसका अवसरमा मातृभाषा सँरक्षणकर्मी तथा अभियन्ताहरुले राज्यबाट सबै मातृभाषाहरुलाई समान ब्यबहार हुनुपर्ने माग गरेका छन् । मातृभाषाहरुको लोप हुँदै गएमा राज्यलाई नै घाटा पुग्ने उनीहरुको तर्क रहेको छ ।