२ नम्बरीको छायांकन स्थगित

काठमाडौं । १० दिनदेखि छायांकनमा व्यस्त रहेको चलचित्र ‘२ नम्बरी’ को टिमले सोमबारबाट छायांकन स्थागित गरेको छ । सुटिङका लागि कास्कीको घाचोक पुगेको यो टिम फिल्मको छायांकन स्थगित गरेर आइतबार राति काठमाडौं फर्किएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखिन थालेपछि यो टिमले सोमबारबाट छायांकन स्थागित गरेको हो । यो चलचित्रका निर्देशक दीपेन्द्र लामाले अहिलेको विषम परिस्थितिमा मानसिक तनाव र त्रास बोकेर काम गर्न सक्ने अवस्था नभएका कारण आफूहरूले चलचित्रको छायांकन स्थगित गरेको बताएका छन् ।
नेपाल चलचित्र निर्माता संघले दुई साताअघि नै एक सूचना निकालेर कोरोना भाइरसको संक्रमण साम्य नभएसम्म चलचित्र छायांकन नगर्न आग्रह गरेको थियो । सो आग्रहलाई बेवास्ता गदै तीनवटा युनिट आआफ्नो फिल्मको छायांकनमा उत्रिएको थियो । जसमध्ये ‘ए मेरो हजुर–४’ ले शुक्रबारबाटै छायांकन स्थगित गरेको थियो ।
सरकारले ६ चैतबाट २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा नहुन निर्देशन दिएपछि परदेशी दुई टिमले पनि लगत्तै छायांकन स्थगित गरेको थियो । चलचित्र ‘२ नम्बरी’को टिमले भने सोमबारबाट छायांकन स्थगित गरेको हो । अब कोरोनाको स्थिति सामान्य भएपछि मात्र यो चलचित्रको छायांकन पुनः सुरु गरिने निर्देशक दीपेन्द्र लामाले बताएका छन् । यो चलचित्रमा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), पल शाह, वर्षा राउत, बुद्धि तामाङसहितका कलाकारको मुख्य भूमिका छ । यो फिल्मलाई रोहित कट्टेल र सरोज नेपाली, किरण नेपाली र रत्न श्रेष्ठले निर्माण गरेका हुन् ।