लक डाउनले नेपाली फिल्मका दर्शक बढे युट्युबमा




काठमाडौं । कोरोना संक्रमण फैलिने क्रम बढेपछि मुलुक एक महिनादेखि लकडाउनको अवस्थामा छ । यो बेला नेपाली घर भित्रै छन् । उनीहरूका लागि दिन काट्ने सजिलो माध्यम चलचित्र बनेको छ । घरमै नयाँ र पुराना स्वदेशी तथा विदेशी चलचित्र हेरेर उनीहरूले समय बिताइरहेका छन् । जसका कारण नेपालमा आफ्नो युट्युब च्यानलमार्फत चलचित्र वितरण गर्दै आएका कम्पनीलाई अहिले फाइदा पुगेको छ ।

युट्युब च्यानलमार्फत नेपाली चलचित्र दर्शकमाझ पु¥याउने नेपालका मुख्य कम्पनीमा बुढासुब्बा डिजिटल तथा बुढासुब्बा मुभिज, ओएसआर डिजिटल तथा ओएसआर मभिज, हाइलाइट्स नेपाल तथा हाइलाइट्सन नेपाल मुभिज, म्युजिक नेपाल पर्दछन् । युट्युब च्यानलमा नेपाली चलचित्र वितरण गर्ने, ओम साइरामसहित अरू पनि थुप्रै कम्पनी छन् । नेपालमा लकडाउन भएपछि यो एक महिनामा आफूहरूको च्यानलको नेपाली चलचित्रले विगतभन्दा दोब्बरसम्म भ्युज पाएको उनीहरूले बताएका छन् ।




‘यति बेला सबैजना घरमा भएकाले हाम्रा युट्युब च्यानलमा यो एक महिनामा नेपाली चलचित्र हेर्ने क्रम निकै राम्रोसँग बढेको छ । नयाँ पुराना सबै चलचित्रलाई दर्शकले अहिले घरमा बसेर हेरिरहनु भएको छ ।’ बुढासुब्बा डिजिटल तथा बुढासुब्बा मुभिजका प्रबन्ध निर्देशक नवराज गिरीले राजधानीसँग भने,‘ नयाँ फिल्म त राम्रो गएको छ नै, पुराना सिनेमा पनि दर्शकले खोजीखोजी हेर्नुभएको छ । कुनैकुनै फिल्मको त एक महिनामा दोब्बरभन्दा बढी भ्युज बढेको छ ।’

यसरी युट्युब च्यानलमा यो लकडाउनमा भ्युज र सस्क्राइब ह्वात्तै बढे पनि आफूहरूलाई आर्थिक फाइदा नभएको पनि प्रबन्ध निर्देशक नवराज गिरीले राजधानीलाई बताए,‘ विश्वमा फैलिएको कोरोना संक्रमण र आर्थिक मन्दी देखाउँदै अहिले गुगल कम्पनीले युट्युबको विज्ञापन कटौती गरेका कारण जति नै राम्रो भ्युज हामीले पाए पनि पैसा साह्रै न्यून मात्र पाएका छौं । यो बेलामा सस्क्राइब बढेको र दर्शकले माया गरेर नेपाली फिल्म हेरिदिनु भएकोमा नै खुसी मान्नुपरेको छ ।’

बुढासुब्बाले यो एक महिनामा दुईवटा नयाँ नेपाली चलचित्र रिलिज ग¥यो । तीन साता अघि नेपाली चलचित्र फोर्स रिलिज गरेको बुढासुब्बाले नयाँ वर्ष २०७७ को अवसर पारेर यो चैतको अन्तिम दिन नेपाली चलचित्र पोइ प¥यो काले रिलिज गरेको थियो । पोइ प¥यो कालेले त अहिलेसम्म ११ दिनमा युट्युबमा ८१ लाख भ्युज पाइसकेको छ । यस्तै, आमाको मुख हेर्ने दिनको अवसर पारेर बिहीबार बुढासुब्बा डिजिटलले अभिनेता सुशील श्रेष्ठको चलचित्र लभ डायरिज रिलिज गर्ने भएको छ ।

यस्तै, लक डाउनपछि आफ्नो च्यानलमा पनि नेपाली चलचित्र हेर्नेको संख्या पहिलाको भन्दा धेरै नै बढेको ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालले बताएका छन् । तर, नवराजको जस्तै ओमको पनि अहिले भ्युज राम्रो जाँदा समेत युट्युबबाट राम्रो पैसा नपाएको गुनासो छ । विश्वव्यापी रूपमा कोरोना संक्रमणका कारण गुगलले युट्युबमा आउने विज्ञापन कटौती गरेपछि आफूहरूलाई अहिलेको अवस्थामा ठूलो घाटा भएको पनि ओम अग्रवालले बताएका छन् ।

ओएसआर डिजिटलले दुई साताअघि सलिनमान बनियाँको मुख्य भूमिका रहेको चलिचत्र यात्रा द भ्लग रिलिज गरेको थियो । यस्तै, नयाँ वर्षको अवसर पारेर एक साता अघि ओएसआर डिजिटलले पूर्वपोर्न स्टार सनी लियोनीले खेलेको नेपाली चलचित्र पासवर्ड रिलिज गरेको छ ।

बुढासुब्बा डिजिटल र ओएसआर डिजिटलको जस्तै हाइलाइट्स नेपाल च्यालनमा रहेका नेपाली चलचित्रको पनि लकडाउनको अवधिमा राम्रो भ्युज बढेको छ । यो च्यालनको पनि पुराना नयाँ सबै फिल्मको भ्युज उत्साहजन रूपमा बढेको छ । तर, गुगलले यो बेला विज्ञापन कटौती गरेपछि यसले पनि भ्युजअनुसारको पैसा पाउन सकेको छैन । हाइलाइट्स नेपालले नयाँ वर्षको अवसर परेर लकडाउनको बेला सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र पञ्चे बाजा रिलिज गरेको थियो ।

यसरी ती तीन मुख्य च्यालनजस्तै अरू च्यानलमा पनि नेपाली चलचित्रले राम्रो भ्युज भएको छ । तर, गुगलले विज्ञापन कटौती गर्दा कसैले पनि यो अवस्थामा राम्रो पैसा पाउन सकेका छैनन् । नेपाली चलचित्रको भ्युज बढेकोमा मात्र अहिले उनीहरूले खुसी हुनुपरेको छ ।



सम्बन्धित
Loading...