कोरोना फैलाएको भन्दै कनिकालाई प्रहरीको पुर्जी

मुम्बई । बलिउड गायिका कनिका कपुरलाई प्रहरी चौकीमा हाजिर हुन प्रहरीले पुर्जी बुझाएको छ । विदेशबाट आएर होमस्टे बस्नुपर्नेमा सरकारको नियम उल्लंघन गर्दै कोरोना फैलाएको भन्दै गायिका कनिकाविरुद्ध दुई साताअघि प्रहरीमा उजुुरी परेको थियो । सो उजुरीको आधारमा उनी ठीक भएको १४ दिनपछि सोमबार प्रहरीले पत्र बुझाएको हो ।
कनिका बस्दै आएको सालिमार ग्यालेन्ट अपार्टमेन्ट पुगेर प्रहरीले उनलाई पुर्जी बुझाएको छ । यी गायिकालाई ३० अप्रिलमा प्रहरी चौकीमा बयान दिन आउन प्रहरीले निर्देशन दिएको छ । उनीसँग ३० अप्रिलमा सोधपुछ गरेपछि सरकारी वकिलमार्फत अदालतमा उनीविरुद्ध महामारी रोग फैलाएको आरोपमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।
उनी म्युजिक कन्सर्ट गरेर भारतको लखनउ फर्किएपछि होम क्वारेन्टाइनमा बस्नुको सट्टा विभिन्न कन्सर्टमा हिँडिन् । जसका कारण केही व्यक्तिमा कोरोना सरेको आरोप उनलाई छ । यी गायिका कोरोना संक्रमित भएर १४ दिन अस्पताल बसेपछि डिस्चार्ज भएकी थिइन् । उनी डिस्चार्ज भएको १४ दिनपछि प्रहरीले सोमबार उनलाई बयान दिने पत्र बुझाएको हो ।
यदि यो मुद्दामा कनिकाले हारेमा ६ महिनादेखि २ वर्षसम्म उनलाई सजाय हुन सक्ने बताइएको छ । यो प्रकरणमा गायिका कनिकाले आफू निर्दोष रहेको र कोरोनासम्बन्धी जनचेतनाको अभावले गर्दा आफू विदेशबाट आएर पनि लखनउमा कन्सर्टमा सहभागी भएको बताएकी छन् । तथापि, तीन दिनपछि प्रहरी कार्यालयमा गएर आफ्नो बयान दिने पनि उनले बताएकी छन् ।