गजल ~ कठै!
- सरोज उजाड –
उचालिन्छ माथिसम्म र पछारिन्छ, कठै!
धमिल्याएर पानी, माछा मारिन्छ , कठै !
साँढे साँढेको जुधाइ चलिरहने रीत भो
बोकाहरू बटुलेर दाइँमा नारिन्छ, कठै!
न शिरमा सजियोस् न गलामा, गहना
सुन बनाउन व्यर्थै पित्तल खारिन्छ,कठै!
माछा खान नजान्नेले अड्कायो काँडा
खाने निर्दोष,माछामै दोष थुपारिन्छ कठै!
जित्नेले पनि जितको खुसी के मनाउनु
दुनियाँ जिते पनि आफैँसँग हारिन्छ, कठै!
- गजल मञ्च नवलपुर
