नेपाल-भारत सीमा: कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा अब सरकारी कामकाजमा
मन्त्रिपरिषद्ले सोमवार अनुमोदन गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ आधिकारिक नक्सालाई सरकारी र सार्वजनिक कामकाजमा तत्कालै प्रयोगमा ल्याइने सरकारले बताएको छ।
सोमवार साँझ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले उक्त नक्सालाई निशान छापा, सरकारी कामकाज र विद्यालयमा अध्ययन-अध्यापनमा प्रयोग गराइने बताए।
भारतले कालापानी क्षेत्रलाई आफ्नो भनेर दाबी गर्दै देशको राजनीतिक नक्सामा समेटेपछि बढेको विवादमाझ नेपालले आफ्नो नक्सा अद्यावधिक गर्दै त्यसमा महाकाली नदी पूर्वका भूभागलाई समेटेको हो।
केही दिन पहिले भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतको उत्तराखण्डको पिथौरागढ र नेपालले आफ्नो भन्दै आएको लिपुलेक जोड्ने सडकको उद्घाटन गरेपछि नेपालमा भइरहेको विरोध ‘अरू कसैको इशारामा भएको हुनसक्ने’ भारतीय सेनाप्रमुखले बताएका विवरणमाझ नेपालले नयाँ नक्सा जारी गरेको हो।