सत्तालाई प्रश्न – कविता


लेखकः प्रेमध्वज गाहा

 



अढाइ सय बर्ष अघि देखि,
सत्ताको लगाम समातेर देश डोर्‍याइरहेका ,
ए शासकहरु !
एउटा गोलमेच बैठक बसौं ,
र निम्न प्रश्नमा छलफल गरौं ।।

तर्क गरौं , बहस गरौं ,
चिन्तन गरौं , मनन गरौं ।
र एउटा तार्किक निश्कर्षमा पुगौं ।
एउटा गोलमेच बैठक बसौं,
र निम्न प्रश्नमा छलफल गरौं ।।




समता र सहकार्यको
राग अलाप्ने सत्ताले
किन मान्छ सधैं दलितलाई अछुत ?
किन गर्छ दलितकै मुटु कलेजोको शिकार ?

हरेक परिबर्तनमा ,
किन समाजका एक तप्काको रगत मात्र चढ्छ ?
किन अयोग्य ठहरिन्छ राज्यसत्तामा ,
उसको नाक ?
किन सधैं एकै खाले अनुहार मात्र आरोहण हुन्छ सत्तामा?

प्रजातन्त्र , लोकतन्त्र, गणतन्त्र
अनेक नामका परिबर्तन,
किन नाम मात्रका परिबर्तन भए?
किन भोगिन्छन र मारिन्छन महिलाहरु?
किन राजधानीमै भोकभोकै मर्छन मजदुर ?
किन पिंधमै रहन्छन किसान र मजदुरहरु सधैं ?
किन बेचिइरहेका छन युवाहरु खाडिमा ?

उत्कृष्ट र योग्य भन्नेहरुले चलाएको देश ,
उच्च र सक्षम भन्नेहरुले चलाएको देश ,
किन दिनदिनै लाग्दैछ ओरालो ?

नैतिक र निष्ठावान भन्नेहरुले
जिम्मा लिएको सत्तामा ,
किन हुन्छ भ्रष्टाचार प्रतिस्पर्धा जसरी ?

किन दिइन्छ जनताको दुहाई?
किन लिइन्छ जनताकै हुर्मत?

अढाइ सय बर्ष अघिदेखी,
जनताको भबिष्य माथी तारो हानिरहेका,
ए सत्ताधारिहरु !
एउटा गोलमेच बैठक बसौं,
अनि उपर्युक्त प्रश्नहरु माथि छलफल गरौं ।।



सम्बन्धित
Loading...