कावासोतीमा खुल्यो प्लाष्टिकजन्य फोहोरलाई पुन प्रयोगमा ल्याउने उद्योग
फोहोरलाई मोहोरमा परिणत गर्दै
नवलपरासी, १५ असोज । फोहोर व्यवस्थापन अहिले नेपालकै प्रमुख समस्या बनेको छ । त्यति मात्र होइन प्लाष्टिकजन्य वस्तुका फोहोरले वातावरणमा सदियौं सम्म असर पुर्याउँछ । जुन नेपालकै मात्र होइन विश्वकै टाउको दुखाईको विषय बनेको छ । तर, पूर्वी नवलपरासीको कावासोतीमा भने केही लघुउद्यमीहरु मिलेर त्यही प्लाष्टिक जन्य फोहोरबाट मोहोर कमाउन शुरु गरेका छन् ।
कावासोती १० मगरकोटमा टिमुरो प्लाष्टिक प्रशोद्धन उद्योग खोलेर ४ जना लघुउद्यमीहरुले फोहोरबाट मोहोर बटुल्न शुरु गरेका हुन् ।
पर्वतको कुस्मा नगरपालिकामा फोहोर मैला व्यवस्थापनमा गरेको कामको अनुभव बोकेका कावासोतीका टिकाराम भुसाल, विदेशमा २ दशक पसिना बगाएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका मुरारी काफ्लेसहित ४ जना मिलेर प्लाष्टिकको प्रशोद्धन उद्योग खोलेका हुन् ।
https://www.youtube.com/watch?v=MnClwCf7SO4
फोहोर भन्नासाथ जो कोहीले पनि नाक थुन्न थाल्छौं तर उनीहरुले त्यही फोहोरबाट मोहोर कमाउन गरेको प्रयास सबैको उदाहरणीय बनेको छ ।
उनीहरुले नवलपरासीको कावासोती १० मगरकोटमा प्लाष्टिकजन्य फोहोरलाई प्रशोद्धन गरेर पुन प्लाष्टिककै भाडा, कुर्ची लगायतका सामग्रीहरु बनाउने प्रयोग गर्न मिल्ने कच्चा सामग्री निर्माण शुरु गरेका हुन् ।
खाली जग्गा भाडामा लिएर २५ लाखको भौतिकपूर्वाधार तथा मेसिनहरु खरिद गरी ५ लाखको पूजीमा प्रशोद्धन उद्योग शुरु गरेका हुन् ।
बजार तथा मानिसहरुको घरघरबाट निस्कने कुहिने र नकुहिने फोहोर मध्ये प्लाष्टिकजन्य नकुहिने फोहोरलाई प्रशोद्धन गरेर बाटा, कुर्ची, जग, पाइप लगायतका प्लाष्टिकका अन्य भाडाकुडा तथा सामग्रीहरु बनाउने कच्चा पदार्थ उत्पादन गर्ने प्रशोद्धन उद्योग खोलेका हुन् ।
कावासोती निवासी टिकाराम भुसालले पर्वतको कुस्मा नगरपालिकामा फोहोर व्यवस्थापनमा गरेको कामको अनुभवलाई अहिले उद्योग साटेका छन् ।
उनीहरुले खास गरेर प्लाष्टिकका पनि गुडिया खालका (नरम खाले) प्लाष्टिकलाई प्रशोद्धन गरेर प्लाष्टिकका कुर्ची, टेबल, बाटा, जग, बाल्टी, टंकी, पाइप बनाउने कारखानालाई विक्री गर्ने गर्दछन् ।
उनीहरुले टिमुरो प्लाष्टिक प्रशोद्धन उद्योग दर्ता गरेर काम शुरु गरेका छन् । यहाँ १० जनाले प्रत्यक्ष रोगजारी पाएका छन् भने फोहोरसँकलनमा अप्रत्यक्ष रुपमा अन्य धेरैले काम गर्ने अवसर पनि पाएका छन् ।
यसको बजार पनि राम्रो भएको र लगानीको दुई गुनासम्म आम्दानी हुने गरेको उद्योगका सञ्चालक मुरारी काफ्लेले बताए ।
नेपालमै प्रशस्त माग भएका वातावरणीय सरसफाईमा पनि योगदान पुग्ने यस्ता व्यवसायमा धेरैको ध्यान गएको देखिदैन ।
खेर गएको फोहोरलाई सदुपयोग हुने, प्लाष्टिकका कुर्ची, बाटा, जग, पाइप जस्ता सामग्रीमा भारतको भर पर्नु नपर्ने यस्ता यस्ता लघुउद्योगहरु नेपालमा प्रशस्त खुल्न सके नेपालको परनिर्भरता पनि विस्तारै घट्ने देखिन्छ ।