नवलपरासीमा प्रतिक्षालय, चौतारोमा पढ्न थाले बालबालिका, नाम अभिलेखिकरणको नाममा मनोमानी शुल्क असुली

अन्यौलका बीच खुल्न थाले नवलपुरका विद्यालय




नवलपरासी, १६ असोज । अन्यौलका बीच पूर्वी नवलपरासीमा विद्यालयहरुमा पठनपाठन शुरु भएको छ ।
अलमल पूर्ण सरकारको निर्देशिका, स्थानीय सरकारको अन्यौल पूर्ण निर्णयका बीच नवलपुरका विद्यालयहरुमा पठनपाठन शुरु भएको हो ।
८ वटा स्थानीय तह रहेको नवलपुरका अधिकांश स्थानीय तहमा विस्तारै पठनपाठन शुरु हुन थालेका छन् ।
कतिपय विद्यालयहरुले विद्यालयमै विद्यार्थीलाई बोलाएर पढाउन थालेका छन् त कतिपयले पार्टी पौवा, चौतारो तथा घरघरमा गएर पढाउन थालेका छन् ।
शिक्षा तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले नवलपुरमा सामाजिक दुरी तथा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार पठनपाठन शुरु भएको बताए ।
नवलपुरका स्थानीय तहहरुले सम्भव भएसम्म वैकल्पिक शिक्षण सिकाई विधिबाट बालबालिकालाई शिक्षण सिकाई गर्न भने पनि अनलाइन तथा भर्चुवल माध्यमबाट सम्भव नभएको भन्दै बालबालिकालाई विद्यालयमै बोलाएर पठाउन शुरु गरेका हुन् ।
कावासोती ३ जीवन ज्योति माविका प्रधानाध्यापक सुमित्रा लम्सालले नवलपुरका समुदायिक विद्यालयहरुले कक्षा ५ सम्मका बालबालिकाहरुलाई गाउँमा एक ठाउँमा जम्मा गरेर सानो सानो समूहमा हप्तामा एक पटक पढाउन शुरु गरेको र कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई विद्यालयमै आलोपालो गरेर बोलाएर दैनिक २/३ घण्टा पढाउन थालेको बताए ।
त्यसैगरी निजी विद्यालयहरुले पनि अभिभावकहरुसँग परामर्श गरेर पठनपाठन शुरु गरेका छन् ।
विद्यालयको कक्षा कोठा विद्यार्थी संख्या हेरेर कम भन्दा कम विद्यार्थी राखेर पढाउनका विद्यार्थी अभिलेखिकरणका साथै पठन पाठन शुरु गरिएको प्याब्सन कावासोतीका अध्यक्ष एवम् सिद्धार्थ आवासीय माविका प्रिन्सिपल भोजराज दाहालले बताए ।

खाजानास्ता खान र शौचालय जान प्रतिबन्ध




विद्यालयमा बालबालिकालाई बोलाएर पढाउन शुरु गरिए पनि बालबालिकालाई विद्यालयमा खाजानास्ता खान र शौचालय प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
एक साता अघिदेखि विद्यालयमा विद्यार्थीहरुलाई आलोपालो बोलाएर पठन पाठन शुरु गराएको देवचुली १६ देवचुली माविका एक शिक्षकले कोरोना संक्रमणको त्रासदी रहेको भन्दै शौचालय प्रयोग गर्न नदिएको बताए ।

मनोमानी शुल्क असुली

सरकारले यस शैक्षिक शत्र खेर जान नदिनका लागि विद्यार्थी अभिलेखिकरण गर्न र वैकल्पिक शिक्षण विधिद्वारा शिक्षण सिकाई गर्न भने पनि नवलपुरका विद्यालयहरु विद्यार्थी भर्ना गर्दै मासिक शुल्क समेत असुल्न थालेका छन् ।
सरकारले भदौसम्मको कुनै पनि शुल्क नलिन भने पनि कतिपय विद्यालयहरु बैशाखदेखिकै शुल्क असुलेका छन् त कतिपयले असोजदेखि गतबर्षकै जस्तो गरी भटाभट शुल्क लिन थालेका छन् ।
शुल्क असुल गर्नेमा संस्थागत विद्यालयदेखि सामुदायिक विद्यालयहरु समेत रहेका छन् । शिक्षा तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले यस्तो गुनासो आएको बताउँदै कुनै पनि शुल्क नलिन निर्देशन गरेको बताए ।
पोख्रेलले भने – विद्यार्थी अभिलेखिकरण नगर्दा विद्यार्थीको एक बर्ष पुरै खेर जाने भएकोले अभिलेखिकरण गर्न र वैकिल्पिक शिक्षण विधिबाट शिक्षण सिकाई गर्न भनिएको हो । भर्ना वा अन्य कुनै बाहानामा शुल्क लिन पाइदैन ।
संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले भने निजी स्रोतका शिक्षकहरुलाई तलब खुवाउन समस्या हुने भएकोले शुल्क लिएको जनाएका छन् ।

https://www.youtube.com/watch?v=YQAUGRwpYkE&t=121s



सम्बन्धित
Loading...