नवलपुर भर्नाको नाममा कुनै पनि शुल्क लिन नपाइने




नवलपुर । पूर्वी नवलपरासीमा कोरोनाको कहरका बीच विद्यालय सञ्चालन भएको बेला भर्ना वा विद्यार्थी अभिलेखिकरणको नाममा कुनै पनि शुल्क लिन नपाइने भएको छ ।

मंगलबार शिक्षा तथा समन्वय ईकाई कार्यालय नवलपुरको आयोजनामा कावासोतीमा भएको सरोकारवालाहरुबीचको छलफल कार्यक्रममा यस्तो निर्णय भएको हो ।




कार्यक्रममा विद्यार्थी संगठन, निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन, सामुदायिक विद्यालयका संगठन इमवक्स, शिक्षक महासंघ, सम्बन्धित पालिकाका शिक्षा कार्यालयका प्रमुखहरु लगायतका सहभागितामा भएको कार्यक्रमले यस्तो निर्णय गरेको हो ।

नवलपुरका शिक्षा तथा समन्वय ईकाई कार्यालयका प्रमुख कृष्णचन्द्र पोख्रेलको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा निजी विद्यालयका संगठनका प्रतिनिधिहरुले शुल्क नलिए विद्यालय चलाउनै नसकिने भन्दै शुल्क लिन पाउनु पर्नेमा जोड दिएको थियो ।

सरकारले कोरोनाको कहरका बीच स्थानीय सरकारको अनुमति र विद्यालयका अभिभावकहरुको सहमतिमा उक्त क्षेत्रको स्वास्थ्य सुरक्षा अवस्था हेरेर सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्न पाउने बाटो खोलिदिएपछि जिल्ला भर सबै पालिकामा एकरुपता ल्याउनका लागि छलफल आयोजना गरिएको शिक्षा ईकाई प्रमुख कृष्ण चन्द्र पोख्रेलले बताए ।

त्यसैगरी छलफलले विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्यका सम्पूर्ण सुरक्षा मापदण्ड पुरा गरेर सञ्चालन गर्ने, सबै पालिकामा समान किसिमको मासिक शुल्क निर्धारण गर्ने लगायतका सहमति गरेको छ ।

नवलपुरमा स्थानीय तह मातहत रहेको शिक्षा कार्यालयले निजी विद्यालयहरुले के कति मासिक शुल्क लिने भनेर शुल्क निर्धारण नगरेका कारण निजी विद्यालयहरुले शुल्क कति र कसरी लिने भन्ने विषय अन्यौल रहेको प्याब्सन नवलपुरका सचिव भीम कंडेलले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले सबै जिम्मेवार तहमा रहेकाहरुले जिम्मेबार तरिकाले काम गरे कुनै समस्या नआउने बताएका थिए ।



सम्बन्धित
Loading...