दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको आरोप भ्रमपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४औैँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको र उद्योगी–व्यवसायीलाई विभाजित गर्यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताएका हुन् ।
त्यस्ता अभिव्यक्ति सुनेर द्विविधामा नपर्नसमेत निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीले आग्रह गरे । देशको निम्ति काम गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी–व्यवसायीहरू राष्ट्रका साझा सम्पत्ति भएको बताए ।
सरकारको नजरमा सबै उद्योगी–व्यवसायी समान भएको उनको भनाइ छ । राज्यले सबैलाई कानुनसम्मत ढंगले संरक्षण प्रदान गर्ने र सुरक्षा दिने काम गर्ने प्रस्ट पारे ।
उनले राज्यले उद्योगी–व्यवसायीहरूसँग सधैँ कारोबारमा पारदर्शिता कायम गर्न मात्रै आग्रह गरेको बताए ।
सरकार राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पुँजीपतिहरूलाई सबल बनाउने पक्षमा रहेको उनको भनाइ थियो ।
राष्ट्रिय पुँजी, उद्यमी र पुँजीपतिहरूलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको पनि उनले बताए।
देशमा पुँजी निर्माण गरी बह्य देशमा लगानी नगर्नसमेत उनले आग्रह गरे । देशमा लगानीका अवसर सिद्धिएको नभई झन् बढेकाले देशभित्रै लगानी बढाउन सुझाब दिए ।