गण्डकी प्रदेशको पत्रकारिता विकासमा गम्भीरः मन्त्री चुमान
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरीबहादुर चुमानले गण्डकी प्रदेशको पत्रकारिताको विकासका सन्दर्भमा आफू वृहत्त छलफल चलाउने योजनामा रहेको बताउनु भएको छ ।
स्वर्गीय पत्रकार तीर्थराज भुसाल स्मृति दिवसका अवसरमा आज स्वर्गीय पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टले नवलपरासीपूर्व कावासोतीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री चुमानले बास्तवमा पत्रकारिता के को भन्नेबारेमा आफूले नबुझेको बताउनुभयो । गण्डकी प्रदेशमा पत्रकारिता क्षेत्रको विकासका सन्दर्भमा आफूले सम्बन्धित विज्ञसँग विशिष्ट प्रकारको बहस गर्न मन लागेको उहाँले बताउनुभयो ।
आफू सरकारमा रहेको भए पनि जोसँग सूचना प्रविधि छ, सत्ता उसैसँग रहेको मन्त्री चुमानले जिकिर गर्नुभयो ।
प्रविधिको प्रयोग गर्न सबैले जान्नु आवश्यक रहेको भन्दै मन्त्री चुमानले विशिष्ट योजना बनाएर प्रदेश सरकार अघि बढ्नपर्छ चाहेको बताउनुभयो । पत्रकारिता र प्रविधिको विकासका लागि प्रदेश सरकारले बजेट छुट्याएको बताउँदै त्यसका लागि योजना बनाउन पत्रकार महासंघलाई उहाँले आग्रह गर्नुभयो ।
पुरस्कार हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका नेकपाका सांसद रोशन गाहाले सत्तामा रहँदा र सत्तामा नरहँदा फरक किसिमले समाचार आउने बताउनुभयो । पत्रकारले मात्रै सत्ताको शक्ति देख्ने उहाँले बताउनुभयो ।
यस्तै, नेपाली कांग्रेसका गण्डकी प्रदेश सांसद तथा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सरकारका कमी कमजोरीहरु केलाउनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
दलीय ब्यवस्थामा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भन्दै सांसद नेपालीले राजनीतिक दलका कमी कमजोरीका कारणले औंला ठड्याउने अवस्था आएको उल्लेख गर्नुभयो । पार्टीभित्रका कमी कमजोरीले गर्दा औंला ठड्याउने अवस्था आए पनि तर अहिलेको ब्यवस्था नै उत्तम ब्यवस्था रहेकोबारेमा पत्रकारले कलम चलाउपर्नेमा जोड दिनुभयो ।
नवलपुर र राजधानीलाई जोड्ने कुरामा गण्डकी प्रदेश सरकारले ध्यान दिनुपर्नेमा पनि नेता नेपालीले जोड दिनुभयो ।
यस्त, स्वर्गीय तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार राजेन्द्र बानियाले पुरस्कार ग्रहणपछि आफूलाई सम्मानित गरेर अझ बढी जिम्मेवारी थपिएको बताउनुभयो ।
उहाँले पत्रकारकारिता फरक कर्म भएकाले यसमा विश्राम भन्ने कहिल्यै नहुने उल्लेख गर्नुभयो । नेपालको पत्रकारिताको आलोचना गरिए पनि भारतको पत्रकारिता भन्दा नेपालको पत्रकारिता उन्नत रहेको बताउनुभयो ।
ट्रष्टका अध्यक्ष झपेन्द्रश्वर भुसालको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य कृष्ण पौडेल, गण्डकी प्रदेस सांसद विष्णु लामिछाने, ओमकला गौतम, पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देल, नवलपुर एफएमका अध्यक्ष नारायण शर्मा लगायतले स्वर्गीय पत्रकार भुसालको स्मरण गर्नु भएको थियो ।
