संसदमा प्रधानमन्त्री: २ दिन बैठकमै नबसी फर्किए, १ दिन बैठक सकिएपछि पुगे
प्रधानमन्त्री केपी शर्माओली मंगलबार प्रतिनिधिसभाको बैठक सकिएपछि संसद भवन पुगेर फर्किएका छन् । प्रधानमन्त्री यो बैठकमा मात्र सहभागी नभएका हैनन् यसअघिका २ वटा बैठकमा पनि उनी सहभागी भएनन् । आजको बैठकमा ढिला हुनुको कारण बालुवाटारमा राखिएको चियापान कार्यक्रम भएको बताइएको छ ।
गत फागुन २३ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गतको पहिलो बैठकमा उनी संसद भवन पुगेर एकछिन बसेर फर्किएका थिए । फागुन २६ गते बसेको दोश्रो बैठकमा पनि उनी संसद भवन पुगेर बैठकमा सहभागी नभई फर्किएका थिए ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्रीको कदमलाई गत फागुन ११ गते सर्वोच्च अदालतले उल्टाइदियो । उनले सर्वोच्चको सो फैसला स्वीकार गर्छु भन्ने अभिव्यक्ति दिएपनि आफ्नो विघटनको निर्णय सहि थियो भन्ने दावी गर्न भने छोडेका छैनन् ।
प्रधानमन्त्री ओलीले मंगलबार सरकारी निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरुलाई गरेको चियापानमा बोल्दै उनले प्रतिनिधिसभाको औचित्यमाथि प्रश्न उठाउन बाँकी राखेनन् । जहाँ उनले सभामुखको भूमिकालाई पनि सेटिङबाट चलेको आरोप लगाएका छन् । उनले प्रतिनिधिसभा विघटन सहि थियो भन्ने दावी गर्दै पुनःस्थापनापछि त्यसको दुश्प्रभाव देखापरेको र विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भएको दावी समेत गरे ।
