सर्वोच्चको अप्राकृतिक फैसला सच्चिने आशा छ: प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक भएको बताएका छन्।
मंगलबार सर्वोच्च अदालतमा फागुन २३ गतेको फैसलामाथि पुनरावलोकन माग्दै निवेदन दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले उक्त अप्राकृतिक फैसला सच्चिने आफूले आशा गरेको बताए।
‘सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएको थियो। पार्टीहरूको आन्तरिक एकता सर्वोच्चले भत्काउन मिल्दैन। यसअघि पनि यस्ता फैसला पुनरावलोकन भएका छन्,’ प्रचण्डले भने,‘मलाई आशा छ, यो फैसला पनि सच्चिने छ।’
यसअघि पुनरावलोकन दिन मंगलबार बिहान ११ बजे प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू बर्षमान पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, जनार्द्धन शर्मा सर्वोच्च अदालत पुगेका थिए।
