चुनावको तयारीमा जुट्यो जनमत पार्टी, सिके राउतको आँखा धनुषातिर

सिके राउत नेतृत्वको जनमत पार्टीले अगामी निर्वाचनको तयारीमा जुटेको छ । त्यसका लागि सो पार्टीले चुनाव लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय नै गरेको छ । अध्यक्ष राउतले नेता तथा कार्यकर्तालाई उम्मेदवार बन्नका लागि तयार रहन निर्देशन समेत दिएका छन् ।
धनुषाको हारसर जीवन केन्द्रमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकमा उनले पार्टीलाई चुनावमा जिताउने लक्ष्यका साथ काम गर्न निर्देशन दिएको पार्टीका उपाध्यक्ष दीपक साहले जानकारी दिए ।
जनमत पार्टीको २० जिल्लामा संगठन रहेको छ । २० जिल्लाको हरेक वडादेखि पालिकामा तथा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको छ । सोही अनुसार आन्तरिक रुपमा उम्मेदवार छनौटको कार्यक्रम पनि सुरु भएको उपाध्यक्ष साहले बताए । उनले भने, ‘पार्टी चुनावमा गएपनि सबै शीर्ष नेता चुनाव लड्नु हुन्न, एक दुईजना पार्टी सञ्चालनका लागि पनि बस्नुहुन्छ, सबै जना चुनाव लडेर सांसद वा पालिका अध्यक्ष वा सदस्य हुनुभयो भने पार्टी सञ्चालन गर्न गाह्रो हुने भएकाले शीर्ष नेतामध्ये एक दुईजना चुनाव नलड्ने सोच बनिरहेको छ । तर निर्णय भएको छैन ।’