स्वास्थ्य मन्त्रालयका प्रवक्ता वेलहिया सीमानाकाको निरिक्षणमा
भैरहवा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्रा डा जागेश्वर गौतमले रुपन्देहीको वेलहिया नाकाको निरिक्षण गरेका छन् ।
छिमेकी मुलुक भारतमा कोभिड–१९ को दोस्रो लहर तिव्र गतिमा बढेकाले नेपालमा थप संक्रमण रोक्न सीमामा खटिएका सुरक्षाकर्मी र भारतबाट आउने नेपालीहरुलाई प्रवेश विन्दुमा नै व्यवस्थित गर्नु पर्ने उनले बताए । निरिक्षणमा रहेका प्रवक्ता गौतमले भाइरसले रुप परिवर्तन गरेकोले यसलाई कोही एक्लैले न्युनिकरण गर्न सम्भव नरहेकोले भाइरसको चेन ब्रेक गर्न स्थानीय सरकारले अपनत्व दिनु पर्ने बताए ।
‘सामान्यतयाः अहिलेको दर हेर्ने हो भने संक्रमण करिब ६ लाख पुग्ने प्रक्षेपण गरेका छौ, हाम्रो प्रक्षेपण गलत ठहरियोस् भन्ने चाहान्छौ किनभने कतिपय ठाँउमा निषेधाज्ञा लगाएका छौं, आवगमन ठप्प गरेका छौ, जसले संक्रमण घट्नु पर्छ,’ उनले भने–‘तर नयाँ भाइरसले छिटो संक्रमण गर्ने, सिकिस्त बनाउने र मृत्यु दर पनि बढि रहेकोले यसले धेरै असर गर्नसक्छ ।’
मन्त्रालयले नाकालाई बन्द गर्नु भन्दा पनि नेपाल आउने नागरिकलाई बन्देज नलगाई सिमा विन्दुमा नै मास्क परिवर्तन गरी नयाँ मास्क लगाउने, स्यानिटाइज गरी शंकास्पदलाई एन्टीजिन परिक्षण गर्ने बताए । सिमामा प्रयाप्त रुपमा एन्टिजीन कीट नभएको स्वीकार्दै डा गौतमले अबको एक सातामा डेढ लाख किट नेपाल आउने र तत्काल सिमा क्षेत्रको डेस्कमा पु¥याउने बताए ।
सिमित स्रोत साधानको वावजुद सिमामा २४ घण्टा खटिएका सुरक्षाकर्मीहरुलाई काम गर्न सहज होस र संक्रमणलाई प्रवेश विन्दुमा नै केही हद सम्म संक्रमण रोक्नका लागि मन्त्रालयले विभिन्न दातृ निकायको सहयोगमा सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छ ।
मन्त्रालयका प्रवक्त गौतमले सशस्त्र प्रहरी बल नम्बर ५ विन्दवासिनी बाहिनीका बाहिनीपति एक लाख १० हजार थान मास्क, १० थान टेन्ट, ३ हजार थान एन्टिजीन किट, ५ सय जोडी ग्लोब्स, एक हजार २० लिटर स्यानिटाइजर, १ हजार ५ सय ५० थान फेस सिल्ड, ३० थान पिपिई सेट, ११ थान कन्टयाक्ट लेस हयाण्ड वासिङ स्टेशन लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।
सामाग्री बुझदै सशस्त्र प्रहरी नायब महानिरिक्षक प्रधानले प्राप्त सामाग्रीलाई यथासक्य चाँडो लुम्बिनी प्रदेशका भारतसँग जोडिएका ६ वटै जिल्लाका सबै नाकामा पु¥याई चेन ब्रेक गर्न सहयोग पु¥याउने बताए ।
