प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभामा आफूले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो ।
सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमले सरकार लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध नदेखिएको भन्दै यस्तो अवस्थामा कांग्रेसले सहयोग गर्न नसक्ने जानकारी गराएको नेता प्रकाशशरण महतले जानकारी दिए । नेता महतका अनुसार, सभापति देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीका लागि दुवैले सँगै लडेको स्मरण गर्दै त्यसको रक्षाका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
जवाफमा आफूहरुले सरकारले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने व्यवहार नदेखाएको र अहिलेसम्मका गतिविधिका आधारमा समर्थन गर्ने अवस्था नरहेको बताएको नेता महतले जानकारी दिए । प्रधानमन्त्रीलाई लोकतान्त्रिक मूल्य र मान्यताका विषय भनाइमा मात्रै नभई व्यवहार देखाउन भनेको नेता महतले बताए । ‘हाम्रो उद्देश्य नै उहाँ (केपी ओली)लाई असफल गराउने भनिसकेपछि समर्थन गर्न सक्ने अवस्था रहेन ।
लोकतान्त्रिक व्यवस्था कमजोर पार्ने काम भएसम्म व्यवहारिक रुपमा लोकतन्त्रका लागि हामीसँगै लडेका हौं भन्ने प्रधानमन्त्रीको भनाइअनुसारका काम नभएकाले व्यवहारमा पनि ती कुरा आउनुपर्यो । विपक्षी पार्टी भए पनि लोकतान्त्रिक प्रक्रियालाई सहयोग गर्न हामी सधैं तयार छौं तर ती कुरालाई व्यवहारमा पनि देखिनुपर्यो भन्ने कुरा हामीले स्पष्ट राख्यौं । लोकतन्त्रलाई मजबुत बनाउने कुराहरुलाई गम्भीरताका साथ हामीले उठायौं ।’
भेटमा नेपाली कांग्रेसले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको, विरामीले उपचार नपाएको, अक्सिजनको अभाव, संकटमा विभिन्न किसिमका विचौलियाहरुको चलखेल लगायत कुराहरुलाई गम्भीरताका साथ लिएर प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीलाई सुझाएको नेता महतले बताए ।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा सहितको टोली लिएर सभापति देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेक थिए ।