प्रतिनिधिसभा विघटनप्रति गण्डकीका विपक्षी दलद्वारा भर्त्सना
पोखरा । असंवैधानिक ढंगबाट राष्ट्रपतीले प्रतिनिधिसभा विघटन गरेको भन्दै गण्डकी प्रदेशका चार राजनीतिक पार्टीले भर्त्सना गरेको छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको भत्र्सना गरेको हो । विज्ञप्तिमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जसपा संसदीय दलका नेता हरिशरण आचार्य र जनमोर्चा नेपालकीसचेतक पियारी थापाको हस्ताक्षर छ ।
कोरोना महामारीको समयमा एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य गरेको उनीहरुले आरोप लगाएका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्यौल र अराजकता सिर्जना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमका विरुद्ध एकतावद्ध भएर लाग्ने उनीहरुले जनाएका छन् ।
‘पछिल्लो कदमको राजनीतिक र कानुनीरुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं, विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानमा उल्लेख गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र, सामवेशी लोकतन्त्रका लागि सम्पूर्ण राजनीतिक दल र जनतामा अनुरोध समेत गरिएको छ ।
https://www.youtube.com/watch?v=gGTyIUrWYYQ&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=3