सरकारले आज अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै


काठमाडौँ – सरकारले आज अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।



प्रतिनिधिसभा नरहेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन जरूरी नरहेको भन्दै विपक्षी दलहरू र विज्ञहरूले विरोध गरे पनि सरकारले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।

अध्यादेशमार्फत आउन लागेको आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेटमा चुनावमा मतदाता आकर्षित गर्ने खालको कार्यक्रम ल्याउने हो कि भन्ने आशंका विपक्षीहरूले गरिरहेका छन् । तर सरकारले भने देशमा महामारी व्याप्त रहेकाले कोरोना नियन्त्रणसँग केन्द्रित कार्यक्रम ल्याउन लागेको संकेत गरेको छ ।




छुट्टै नीति तथा कार्यक्रम नै प्रस्तुत नगरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा बजेट स्वास्थ्य केन्द्रित हुने संकेत गरेका छन् । प्रतिनिधिसभा नियमावलीमा बजेट प्रस्तुत गर्नुअघि संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने उल्लेख छ । तर प्रतिनिधिसभा नै नरहेपछि उक्त नियमावली पनि मिचिएको छ ।

संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले अपराह्न चार बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।



सम्बन्धित
Loading...