गुडिरहेको जीपलाई ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृत्यु

ओखलढुंगा । गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृत्यु भएको छ ।
सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा काे १ ज ३५६९ नम्बरको बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ की ७ वर्षीया युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
नदीमा युवकको शव फेला
बैतडीको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।
स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दियो ।
प्रहरी टोली घटनास्थलमा गएको छ । शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जानकारी दियो ।
