विमलको कमब्याक गोलमा मरिससमाथि नेपाल विजयी, एपीएफलाई आहा राराको उपाधि

विमल घर्ती मगरले गरेकाे एक मात्र गाेलमा नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा माेरिससलाई १-० ले पराजित गरेकाे छ । शनिबार दशरथ रंगशालामा भएकाे खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टकाे पासमा गाेल गरे ।
२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नाेभेम्बरमा म्यानमार विरुद्ध पछिल्लाे पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चाेटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलाे राेजाईमा अवसर दिए । उनले पनि घरेलु दर्शकलाई निराश पारेनन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाए ।
नेपालका लागि विमलकाे याे नवाैँ गाेल हाे । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लाे पटक गाेल गरेका थिए ।
यस्तै यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरे । देवेन्द्रले पहिलाे राेजाईमा खेल्दा जगजित दाेस्राे हाफमा मैदान प्रवेश गरेका थिए ।
शनिबारको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् ।
पहिलाे हाफमा नेपालले गाेल गर्ने केही अवसर बनाएपनि सदुपयाेग गर्न सकेन । पहिलाे हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेकाे दुई प्रहार पाेष्ट माथिबाट बाहिरियाे । यस्तै अन्जन विष्टले दुई अवसर सदुपयाेग गर्न सकेनन् । यसैगरी सुनिल बलकाे फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएकाे थियाे ।
नेपालले दाेस्राे हाफमा थप दुई गाेल गर्ने अवसर गुमाएकाे थियाे । अञ्जन विष्टको हेडर बारमा लागेर फर्किँदा जगजित श्रेष्ठकाे हेडर माेरिससका गाेलकिपर कप्तान केभिनले बचाए ।
नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।
एपीएफलाई आहा राराको पहिलो उपाधि

६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । शनिबार पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त ३० मिनेट २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट विजेताको टुङ्गो लागेको हो ।
मनाङका फ्रयांङक्लिन टेला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्दा पाँचौ नम्बरमा प्रहारका लागि आएका अफिज ओलावालेले बललाई जाली चुमाउन सकेनन् । एपीएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ्ग, मणि लामा, आरमन्ड विडङले पेनाल्टीमा कुनै गल्ती गरेनन् ।
यसअघि युवराज खड्काले २०औँ मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता बनाएको थियो । तर, ६७ औँ मिनेटमा दयानन्द सिंहले गरेको गोलबाट मनाङ खेलमा फर्किएको थियो । ८३ औँ मिनेटमा फ्रयांक्लिन टेलाले गोल गरेपछि मनाङले २(१ को अग्रता बनाएको थियो । यद्यपि, इन्जुरी समयमा रवि थिङ्गले गोल गर्दै एपीएफलाई बराबरीमा फर्काएका थिए ।
एपीएफ यसअघि २०६४ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो ।