स्थानीय चुनाव समयमै गर्न युवा संघकाे माग
राम अवतार चाैधरी
कपिलवस्तु, 
कपिलवस्तुको चन्द्राैटामा स्थानीय चुनाव समयमा गर्न परमादेश सरकारलाई दबाब दिन राके जुलुस निकालिएकाे छ । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गरी बैशाखमै चुनाव गराउन माग गर्दै राके शनिबार जुलुस निकालिएको आयाेजकले जनाएको छ ।
स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर, संविधान र लोकतन्त्रको रक्षा गर भन्ने नाराका साथ संजीवनी सामुदायिक अस्पतालबाट निकालिएकोे राके जुलुस चन्द्रौटा चोक आएर कोणसभामा परिणत भएकाे राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका संयोजक कृष्ण कार्कीले जानकारी दिए । 
तोकिएको समयमा चुनाव गर्नु संविधानको कार्यान्वयनसँग जोडिएकाले त्यसतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउँदै कार्यक्रममा सहभागी एमाले निकट, दलका नेता, कार्यकर्ताहरुद्वारा राके जुलुस निकालिएकाे समेत कार्कीले जनाए । आउँदो जेठ ६ गते अघि नै स्थानीय तहको चुनाव हुनुपर्ने भए पनि सरकारले मिति घोषणा गर्न सकेकाे छैन् । निर्वाचन आयोग, प्रतिपक्षी दल एमाले, संविधान तथा कानुनविद् लगायतले यथाशीघ्र चुनावको मिति घोषणा गर्न माग गरिरहेका छन् ।
राष्ट्रिय युवा संघ जिल्ला संयोजक कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका विभिन्न जनसङ्गठनका संयोजक तथा सदस्यहरु, जिल्ला पार्टी सदस्य टोपलाल पोख्रेल, शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेव पोख्रेल, सचिव शरद अधिकारी लगायत दर्जनाैँ नगर कमिटी सदस्यहरुको समेत उपस्थिति रहेको थियो । 