कपिलवस्तुका दुई पालिकामा सुविधा सम्पन्न अस्पताल
राम अवतार चाैधरी
कपिलवस्तु,
कपिलवस्तुका दुई पालिकामा १५ बेडको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएका छन् । जिल्लाको बुद्धभूमि र महराजगञ्ज नगरपालिकामा आधारभूत तहको सुविधा सम्पन्न अस्पताल निर्माण हुन लागेको जनाइएको छ । बुद्धभुमी नगरपालिकामा १९ करोड र महारजगञ्ज नगरपालिकामा २८ करोड लागतको अस्पताल निर्माण हुन लागेको बताइएको छ ।
बुद्धभुमी नगरपालिका वडा नम्बर २ बडहरा चोकमा एक विग्हा क्षेत्रफलमा १९ करोड लागतको आधारभुत अस्पताल निर्माणको प्रकृया अघि बढाइएको नगर प्रवक्ता पवन कुमार थारुले बताए । अस्पताल निर्माणको लागि टेन्डर आव्हान गरि सकिएको बताउँदै निर्माण हुने अस्पतालमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसुति, फार्मेसी लगायतकाे सेवा हुने उनले बताए । अस्पतालमा लिफ्टको समेत सेवा हुनेछ । आफनो कार्यकालको साढे ४ बर्ष पुरा गरेका बेला अस्पतालको निर्माण प्रक्रिया अघि बढेको भन्दै २ बर्ष भित्र अस्पतालको निर्माण सम्पन्न हुने थारुले बताए । अस्पताल निर्माण भएपछि नगरबासी लाभांवित हुने समेत नगर प्रवक्ता थारुले बताए ।
त्यसैगरी महराजगञ्ज नगरपालिका वडा नम्बर १ प्राथमिक स्वास्थ्य चौकीको किनारमा एक विग्हा बढी क्षेत्र रहेको उक्त जग्गामा सुविधा सम्पन्न अस्पताल निर्मााणको तयारी गरिएको महाराजगञ्ज नगर प्रमुख अब्दुल कलामले बताए । निर्माण हुने अस्पतालमा आधारभुत तहको स्वास्थ्य सेवा उपलब्ध हुने उनले जनाए । जनरल फिजिसियन, प्रसुति, ल्याब, फार्मेसि, डेन्टल आँखा लागतयका आधारभुत सेवा अस्पतालमा उपलब्ध हुने उनले बताए । अस्पताल निर्माण भएपछि महराजगञ्जले स्वास्थ्य सेवामा फडको मार्ने उनकाे भनाइ छ ।
सामान्य उपचारका लागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानुपर्ने बाध्यता अस्पताल निर्माण भएपछि हटने प्रमुख कलामले बताए । नगरबासीको स्वास्थ्य सेवा आफनो पालिकाको पहिलो प्राथमिकता रहेको बताउँदै पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र ११ वटै वडामा भवन निर्माण गर्ने योजना रहेको उनले बताए । ११ मध्ये ६ वटा वडामा बर्थिक सेन्टर सञ्चालन भईसकेको उनले जनाए । बाँकी ४ स्वास्थ्य चौकीमा समेत बर्थिङ सेन्टर चाँडै बनाईने जनाउँदै यस्तै वडा नम्बर ४, ५ र ११ मा अधुरो स्वास्थ्य चौकी भवन समेत चाडै निर्माण गरिने नगर प्रमुख कलामले जानकारी दिए ।