शिवराजमा तरकारी संकलन केन्द्र
वडाध्यक्ष सापकोटाले भने:-"यो संकलन केन्द्र कृषि सहकारीले सञ्चालन गर्ने छ"
राम अवतार चाैधरी
कपिलवस्तु 
स्थानीय कृषकलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिकामा तरकारी संकलन केन्द्रको शिलान्यास गरिएको छ । शिवराज नगरपालिका वडा नं.३, खरेन्द्रपुरमा मंगलबार वडा अध्यक्ष टेकलाल सापकोटाले शिलान्यास गरेकाे जनाइएको छ ।
वडाध्यक्ष सापकोटाले संकलन केन्द्र शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै कृषकले उत्पादन गरेका तरकारीको बजारीकरणमा सहजाताका लागि संकलन केन्द्र स्थापना गर्न लागिएको बताए । वडा नं.३ लाई तरकारी जोन बनाउने उद्देश्यका साथ केन्द्र निर्माण गर्न लागिएको उनले बताए । वडाका विभिन्न गाउँहरुका किसानहरुले उचित मुल्य नपाउने, विक्री गर्न समस्या हुने देखिएको बताउँदै वडाध्यक्ष सापकोटाले भने:-“यो संकलन केन्द्र कृषि सहकारीले सञ्चालन गर्ने छ” ।
यसैबीच कृषि शाखा प्रमुख ताराचन्द चौधरीले कार्यक्रममा बाेल्दै नगरको ६ लाख र उपभोक्ता समितिको ६५ हजार लागतमा निर्माण गर्न लागिएको जानकारी दिए । शिवराज नगरपालिकामा दुई स्थानमा तरकारी संकलन केन्द्र स्थापना हुने जनाउँदै किसानले उत्पादन गरेका तरकारी निश्चित मुल्यमा खरिद गरि विक्री गरिने चौधरीले बताए । वडा नं. ३ अन्तर्गत रहेकाे शिवराज कृषि सहकारीले साे संकलन केन्द्र कुशल व्यवस्थापनका साथ सञ्चालन गर्ने सहकारीका अध्यक्ष केयर सिंह अदैले बताए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सदस्य ईश्वरी पाण्डे, युवा नेता अजय थापा, गंगाधर भट्टराई र स्थानीय लगायतकाे उपस्थिति रहेकाे थियाे ।