काठ तस्करी माैलाउँदै
राम अवतार चाैधरी
कपिलवस्तुु,
कपिलवस्तुको पश्चिमी क्षेत्र विजयनगरमा पछिल्लो समय काठ तस्करी माैलाउँदै गएकाे पाइएकाे छ । नेपाल-भारत सिमा नाकामा रहेकाे दर्जनौं स: मिल र फर्निचर उद्योगहरुकाे लागि तस्करहरु भारतीय जङ्गलबाट बहुमुल्य काठकाे तस्करी गरेकाे पाइएको छ ।
विजयनगर गाउँपालिकाका वडा नम्बर ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ भारतीय जङ्गलसँग जाेडिएकाेले नदीकाे किनार अवस्थित गाउँहरुमा रातको समयमा तस्करहरुले काठका गाेलियाहरु बगैँचा ल्याउने गरेको बताइएको छ । कालाे सिसम र टिककाे काठकाे तस्करी गरी काठहरु पराल अथवा गाेठमा लुकाउने र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिने गरेको स्थानीयकाे भनाइ छ ।
स्थानीय प्रशासन कै मिलाेमताेमा काठ तस्करी बढ्दै गएकाे स्थानियले आराेप लगाएका छन् । जिल्लाको पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर, ठकुरापुर, परशरामपुर घाट लगायतकाे क्षेत्र हुँदै काष्ठ भित्रिदै आएकाे एक स्थानियले बताए । तस्करी हुने नाका कृष्णनगर प्रहरी कार्यालय मतहतमा रहेकाे वेदमउ प्रहरी चाैकि र गणेशपुर इलाका प्रहरी कार्यालय मातहतमा रहेकाे ठकुरापुर प्रहरी चाैकी पर्दछ ।
यता इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले गणेशपुर मातहतका प्रहरी कार्यालयका प्रहरीलाई सक्रियतासाथ खटाइएको बताए । नेपाल-भारतसँगको २८ किलाे मिटर लामाे खुला सिमाना रहेकाे बताउँदै प्रहरी जनशक्तिकाे कमीले निगरानी गर्न समस्या भएकाे उनले बताए । बाहिर विभिन्न सञ्चार माध्यममा आए जस्ताे प्रहरीकाे मिलाेमताेमा काठ तस्करी नभएकाे उनले दाबीसमेत गरे । उनले भने, “कुनै पनि माध्यमबाट प्रहरीकाे संलग्नता रहेकाे पाइयाे भने कारवाही हुन्छ” । प्रहरी निरीक्षक बिष्टले यस विषयमा बन कार्यालयले एक्शन लिनुपर्ने आवश्यक रहेकाे बताए ।
त्यसैगरी सब-डिभिजन बन कार्यालय ठाकुरापुरका प्रमुख गणेश पुरीले बन कर्मचारीले गस्तीलाई सक्रियतासाथ हेरिरहेको बताए । अन्तर्राष्ट्रिय सिमाना खुला र जनशक्तिकै अभावले काठको चाेरी, तस्करी कहीँ कतैबाट चाेरी भएकाे हुन सक्ने उनले बताए । विगतमा पनि धेरै अबैध चाेरी निकासी काठ बरामद गरिएकाे बताउँदै बन कार्यालयले रातदिन खटेर गस्ती गर्दै निगरानीलाई बढाइएको पुरीले दाबी गरे ।
स्थानीयका अनुसार प्रहरी कार्यालय अगाडिबाट काठ ओसारपसार समेत भएको पाइन्छ । यसरी रातारात काठ तस्कर हुँदा प्रहरी मुखदर्शक भएको छ । प्रहरीले काठ तस्करहरुलाई पक्राउ गर्न तदारुकता नदेखाउदा प्रहरीकै मिलेमतो रहेको आशंका गरिएको छ ।