शिवराज ९ मा माओवादीलाई ठुलो झड्का, २ सय २० ले रोजे एमाले

अन्यबाट पनि ३० जना


कपिलवस्तु, 
कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नम्बर ९ बाट विभिन्न पार्टी परित्याग गरि २ सय ५० जना नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । नेकपा (माओेवादी केन्द्र) पार्टीबाट मात्र २ सय २० जनाले एमालेमा प्रवेश गरेका छन् । त्यस्तै नेपाली काँग्रेसबाट २० जना र अन्य पार्टी परित्याग गरी १० जनाले एमालेमा प्रवेश गरेका हुन् ।



नेकपा एमाले वडा कमिटीले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा उहाँहरूले प्रवेश गरेको वडा कमिटीका अध्यक्ष अशोक मल्लले जानकारी दिनुभएको छ । नेकपा एमाले पोलिट व्युरो सदस्य बिमला घिमिरेले र एमाले जिल्ला अध्यक्ष डम्बर शर्माले उहाँहरूलाई पार्टी सदस्यतासहित टीका लगाई एमालेमा प्रवेश गराउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट व्यरो सदस्य बिमला घिमिरेले प्रचण्डले सत्ताको लोभमा नेपाली काँग्रेस पार्टीसँग मिलेर गठबन्धन सरकार बनाइएको बताउनुभयो । विभिन्न पार्टीसँग मिलेर गठबन्धन सरकार बनाए पनि नीति, सिद्धान्त विपरीत काम गर्दै देशलाई अस्थिरतातिर लगिएको बताउनुभयो । उहाँले प्रचण्डले भाषाणमा मात्र विकासको बारेमा कुरा गर्ने बताउँदै प्रचण्डले एक षड्यन्त्रकारी प्रपञ्च रच्ने र जनतालाई सडकमा उतारेर देशप्रति झुठो बहादुरी देखाउने गरेको बताउनुभयो ।




उहाँले भन्नुभयो’ प्रचण्डले कहिल्यै जनताको हित र भलो हुने काम गरेनन्“ । प्रधानमन्त्री बन्ने सपनाले शेर बहादुर देउवासँग एमाले मावध कुमार नेपाललाई फुटाएर गठबन्धन सरकार बनाइएको बताउनुभयो । उहाँले एमालेमा प्रवेश गर्नेको लहर चलिरहेको बताउँदै अब आगामी प्रदेश र संघीय निर्वाचनमा एमाले एकलै एकतिर भए पनि एमालेको सरकार बन्ने निश्चित भएको ठोकुवा गर्नुभयो । उहाँले गठबन्धन सरकार पत्तासाफ हुने र एमालेको सरकार देशमा सबैभन्दा बलियो पार्टीसमेत दाबी गर्नुभयो ।

यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बर शर्माले नेकपा एमाले मात्र देशको विकासमा आमूल परिवर्तन ल्याउन सक्ने बताउँदै स्थानीय तहदेखि लिएर, प्रदेश र संघीय निर्वाचनमा सबैले गोलबद्ध भई एमालेमा उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले एमाले पार्टीसँग काँग्रेस, माओवादी केन्द्र र अन्य पार्टीको लड्ने क्षमता नभएकाले डराएर अब आउने निर्वाचनमा प्रचण्ड, माधव कुमार नेपालले गठबन्धन गरि सत्तामा पुग्ने ठुलो सपना देखिरहेको बताउनुभयो ।

प्रचण्डले जनताको माझमा जहिले पनि विकासको एजेन्डा भन्दा झुठो भ्रमको खेती गर्दै हिडेको उहाँले बताउनुभयो। उहाँले देशको हरेक सवालमा एमालेले मात्र विदेशसँग आँट गरि राष्ट्रको रक्षा हुने कार्य गरेको बताउनुभयो । अरु पार्टीले दक्षिणपन्थी र अवसरवादी भएका कारण अहिले देशको अवस्था दुरगतितर गइरहेको बताउनुभयो । अब सबैले एमालेलाई जिताउन एकजुट हुँदै पार्टीका गतिविधिहरुमा लाग्न अनुरोधसमेत गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव सिवि गहतराज, उप– सचिव अर्जुन कुमार केसी, प्रदेश कमिटी सदस्य बेगम विश्वकर्मा, जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा जिल्ला कमिटी सदस्य शिव कुमारी थारु, शिवराज नगर कमिटी अध्यक्ष जगत, उपाध्यक्ष महादेव पोख्रेल, सदस्य नारायण सापकोटा, बाबुराम सापकोटा, प्रमोद सुबेदी, विष्णु सोती, पार्वती सुबेदी लगायतको उपस्थिति रहेको थियो भने वडा कमिटी सचिव पदम सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।



सम्बन्धित
Loading...