पार्टीले दुर्व्यवहार गरेकाले एमाले प्रवेश गरेँ: विजयकुमार सरावगी


 



वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्।

 




सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भए पनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।

 

विगतमा आफूले जसपा छोड्न दुई पटक राजीनामा दिएको भए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए।

 

आफूलाई सामाजिक रूपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफूले नयाँ पार्टी रोज्नुपरेको उनले स्पष्ट पारे।

उनले भने, ‘पूर्ण रूपमा यो महानगरपालिका र पूरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले मलाई राख्नुपर्थ्यो। किनभने म त राजनीतिक पृष्ठभूमिबाट आएको थिएन। म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिएँ। जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए। त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपर्थ्यो, जुन ढंगले मलाई राख्नुपर्थ्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिएँ।

 

राजीनामा दिदाँदिँदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो। म रोकिएँ पनि। तर लगातार मसँग दुर्व्यवहारहरू हुने, सामाजिक रूपमा मलाई जहिल्यै पनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरू भइराखेको थिए। मैले अध्यक्षजीलाई पहिला पनि भनिसक्या थिएँ कि, म यो पार्टीमा बस्दिनँ यो ढंगले र त्यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजेँ।’

 

 

मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए।

 

आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनको भनाइ छ।

उनले एमालेमा कुनै पद पाउनका लागि सर्त गरेर नगएको बताए।

 

पार्टीले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने उनले बताए।

 

उनले भने, ‘म जुन एमाले पार्टी प्रवेश गरेको छु। पार्टी प्रवेश गर्दाखेरी कहिल्यै पनि सर्तसहित जानु हुँदैन भन्ने मलाई लाग्छ। म नि:शर्त गएको छु। अब पार्टीले मूल्यांकन गर्ने हो। मेरो काम, कारबाही कस्तो रह्यो, म कसरी आफ्नो पर्फमेन्स गरें। उहाँहरूले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु। अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु। यसको लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन। पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ। पार्टीको आदेश अनुसार, पार्टीको टिकट अनुसार म अगाडि बढ्छु।’

 

 

उनले आगामी निर्वाचनमा पार्टीले मेयरको टिकट दिएर मेयर बन्न तयार रहेको स्पष्ट पारे। मेयरको टिकट नदिएर अन्य जिम्मेवारी दिए पनि स्वीकार गर्ने उनको भनाइ छ।

 



सम्बन्धित
Loading...