टेक्टरसहित नेता पक्राउ
कपिलवस्तु, 
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा नदीजन्य पदार्थ चाेरी निकासीमा संलग्न दुई सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तेज प्रसाद पाैडेलकाे लु ३ त ५५१० र रा १ ख १५३५ नम्बरको टिप्पर नम्बरको ट्रेक्टरले नदीजन्य पदार्थ चाेरी निकासी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिए ।
आइतबार वडा नं. २ लाेहराैलाकाे बगुलहवा घाटबाट अबैध रुपमा नदीजन्य पदार्थसहित ट्रेक्टर पक्राउ गरिएको निरीक्षक विष्टले बताए । नेकपा (माओवादी केन्द्र) का विजयनगर गाउँपालिका अध्यक्ष समेत रहेका पाैडेलकाे ट्रेक्टर नियन्त्रणमा आएपछि साेमबार गाउँपालिकाकाे कार्यालयमा १० हजार रुपैयाँ जरिवाना तिरेपछि ट्रेक्टर छाेडिएकाे जनाइएको छ । स्थानीयका अनुसार अध्यक्ष पाैडेल यसरी गाउँपालिकाकाे भावी उम्मेदवार बन्ने सपना बाेकेका उनी पछिल्लो समय गैरकानुनी काममा संलग्न हुँदै आएका छन् ।
केही महिनादेखि दिनहुँ विजयनगर गाउँपालिकाकाे विभिन्न खाेलाबाट नदीजन्य पदार्थकाे चाेरी निकासी बढ्दै गएकाे पाइन्छ । विजयनगर वडा नं. १ काे चिरई, विशवा, गगटे लगायत नदीबाट चाेरी निकासी भइरहेकाे स्थानीय बताउँछन् ।