रुपन्देही सुपर लिग : वेस्टर्न क्रिकेट १ सय ३३ रनले पराजित
रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा आइतबार भएको खेलमा बुद्ध क्रिकेट क्लबले वेस्टर्न क्रिकेट क्लबलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
![]()
टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ७ विकेटको नोक्सानीमा २ सय ३५ रनको योगफल बनायो ।
उसका लागि विपिन रावलले ५६, सुरज पौडेलले २८, विपिन खत्रीले २७ र सुवाष भण्डारीले २६ रनको योगदान दिए । बलिङमा वेस्टर्नका प्रतिष जिसीले ३ र नरेन साउदले २ विकेट लिए ।
जवाफी ब्याटिङ गर्दै वेस्टर्नले २५.२ ओभरमा सबै विकेट गुमाएर १ सय २ रनमात्र बनायो । उसका लागि अनिल शाहले २६, विक्रम भुसालले १९ र शौरभ खनालले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा लक्ष्य भेट्टाउन सकेन ।
उसलाई सस्तैमा रोक्न बलिङमा बुद्धका विपिन खत्री र अमित अग्रहरीले ३–३ तथा रुपेश कुर्मी र सुवास भण्डारीले समान २–२ विकेट लिए । विपिन खत्री म्यान अफ द म्याच बने ।