काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी एमाले प्रवेश गरेपछि पहिलो पटक कपिलवस्तुमा सम्बोधन गर्ने क्रममा आफ्नो न्वारानको नाम सुर्जेकुमारी रहेको बताएपछि सामाजिक संञ्जालमा निकै आलोचना र ‘ट्रोल’को सिकार बनेकी नायिका करिश्मा मानन्धरले नेपालका सबै महिलाहरुको नाम सूर्यकुमारी होस् भन्ने आफ्नो चाहाना रहेको बताएकी छिन्।



उनले भनिन्– ‘अब सत्य सुन्न मन नलागेको हो कि? म असाध्यै हर्षित छु त्यसबारेमा चाहि। किनभने उहाँहरुलाई मेरो न्वारानको नाम सुनेर बडा चिन्ता लागेछ होइन? बडा चिन्तित हुनुभयो। मेरोबारे सोच्नु भयो त्यसमा खुशी छु। म ‘पोलिटिक्स’मा लागेर जुन नाम कमाएको थिए त्यो खत्तमै गरे विचरा सूर्यकुमारी करिश्मा भनेर भन्नु भयो, त्यस्तो चिन्ता लिने जनता हुनुहुन्छ मेरो त्यसमा पनि खुशी छु।

त अर्को खुशी कहाँ निर छु भने फेरि ४,५ हजारको ‘कमेन्टस्’ले मलाई पुगेन के, त्यहाँ के भन्या छ भने,– ‘मेरो नाम पनि सूर्यकुमारी, मेरो नाम पनि सूर्यकुमारी भन्या छ। म चाहान्छु त्यो एक करोड कमेन्टस् हुनुपर्छ ‘मेरो नाम पनि सूर्यकुमारी’ भनेर होइन? किनभने ३ करोड जनसंख्यामा आधी जनसंख्या महिलाको छ नि त! भनेपछि हरेक महिला सूर्यकुमारी जस्तै पाओस्, त्यस्तो होओस्, अनि मात्रै यो मुलुक अघि बढ्छ।




कपिलवस्तुमा अघिल्लो साता अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर पाएकी करिश्मा उत्साही तर नर्भस देखिएकी थिइन्।

भाषणको सुरुमा मञ्चमा आसिन पार्टीका नेताहरूलाई सम्बोधन गर्दा नै करिश्माले गडबडी गरिन्। उनले विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई वरिष्ठ महासचिव भनेकी थिइन्। आफूलाई बोल्न अवसर दिएकोमा उनले आभार प्रकट गरिन्।

‘एमालेमा म एउटा नयाँ मान्छे हो। भर्खर छिरेको मान्छेलाई बोल्न अघि सानुभएकोमा धन्यवाद। यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर। यहाँ नयाँहरुलाई मौका दिइन्छ। यहाँ महिलाहरूलाई मौका दिइन्छ। त्यसैले पनि नेकपा एमाले बनेको रहेछ,’ करिश्माले भनिन्, ‘आइ एम क्वाइट इम्प्रेस्ड।’

विगतमा जहाँ–जहाँ भौतारिए पनि आज बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको उनले बताइन्। ‘अब चाहिँ समाजका लागि योगदान दिन सक्छु भन्ने आत्मविश्वास जागेको छ, केही गर्ने आँट आएको छ, ’उनले भनिन्।

छोटो भाषणको अन्त्यमा उनले एउटा नयाँ खुलासा पनि गरिन्। ‘एउटा कुरा रिभिल गरिदिउँजस्तो लाग्यो,’ उनले भनिन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है।’

करिश्माले थपिन्, ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ। सूर्यले नेपाललाई धान्ने छ। लालसलाम।’ भाषण टुंग्याउँदै करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजी गरेकी थिइन्।



सम्बन्धित
Loading...