वर्षमान पुनलाई अहिलेको गठबन्धन मन परेको छैन, एमालेसँग तालमेल गर्ने चाहना पूरा नभएकाले गभर्नर निलम्बनको विरोध गरिरहेका छन्ः अर्थमन्त्री जनार्दन शर्मा


काठमाडौं, २९ चैत । अर्थमन्त्री जनार्दन शर्माले पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेसँग तालमेलमा जान चाहेकाले गभर्नर निलम्बनको विरोध गरेको आरोप लगाएका छन् ।



प्राइम टाइम्स एचडीबाट हिजो प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थमन्त्री शर्माले भने, “वर्षमान पुन र म साथी साथी हौं, सहयोद्धा हौं । उहाँसँग मेरो सम्बन्ध राम्रै छ । तर उहाँ एमालेसँग तालमेलमा जान चाहनुहुन्छ । हामी यही गठबन्धनलाई बलियो बनाउने पक्षमा छौं । यो कुरा उहाँलाई मन परेको छैन । त्यसैले गठबन्धनको विरोध गर्न गभर्नर निलम्बनमार्फत छिर्नुभएको हो ।”

वर्षमान पुनलाई यसबाट कुनै राजनीतिक लाभ नहुने पनि शर्माले ठोकुवा गरे । उनले थपे, “वर्षमानले त्यो कुरा व्यक्तिगत र पार्टीगत रुपमा भन्नुभएको छैन, पत्रिकामार्फत भन्नुभएको छ । यो उहाँको बुझाइको समस्या हो । उहाँले आफूलाई राजनीतिक फाइदा हुन्छ भनेर निलम्बनको आलोचना गर्नुभएको होला । तर उहाँलाई केही पनि फाइदा हुँदैन ।”




“वाम गठबन्धन असफल भएकाले वाम-लोकतान्त्रिक गठबन्धन”

पार्टी अध्यक्ष प्रचण्डसँग तपाईंको सम्बन्ध कस्तो छ भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, “प्रचण्ड मेरो नेता हो, पार्टी अध्यक्ष हो । म उहाँको कार्यकर्ता हुँ । उहाँले जिम्मेवारी दिएर म यहाँ छु । म सरकारकै मन्त्री हुँ । म गठबन्धनकै पक्षमा छु । हामी गठबन्धनलाई बलियो बनाएर जाने पक्षमा छौं । तर मेरा साथीलाई यो मन नपर्दाखेरि यता छिरेर बोल्नुभएको हो ।”

तपाईंको पार्टीभित्रै गठबन्धन मन नपराउने रहेछन्, भरतपुरमा मेयर कसरी लिनु वा दिनुहुन्छ भन्ने प्रश्नमा शर्माले थपे, “गठबन्धन मन नपराउने माओवादीभित्र पनि होलान्, कांग्रेसमा पनि छन् । मूलभूत रुपमा गठबन्धन हुन्छ । यो शतप्रतिशत लागू नहुन पनि सक्छ । देशभरि गठबन्धन हुन लागेको छ भने देशभित्र पर्दैन भरतपुर ?”

 



सम्बन्धित
Loading...