‘दाइ, म मर्न चाहन्न’
डाक्टरले मृत घोषणा गर्नुभन्दा करिब आधा घण्टाअघि अमृताले दाइलाई म्यासेज पठाएकी थिइन्, ‘दाइ म मर्न चाहन्नँ । म यहाँ बस्न नि सक्दिनँ । प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ । प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु, म निस्किन्छु ।’
बुटवल । ‘दाइ म मर्न चाहन्न, मलाई यहाँ (घर) बाट निकाल्नुस्,’ दाजु पुष्पक खत्रीलाई राति साढे ९ बजे फेसबुक म्यासेञ्जरमा अमृता खत्रीले म्यासेज गरेकी थिइन् । त्यसको आधा घण्टामा अमृताको मृत्यु भएको खबर माइतिलाई आयो ।
२०७८ सालको अन्तिम दिन अर्थात् चैत ३० गते अमृता राति साढे ८ बजेसम्म माइती घरमै थिइन् । तीन पटकसम्म श्रीमान प्रेम टण्डनले फोन गरेको र घर नआए छोरालाई जे पनि हुन सक्ने धम्की दिएपछि घर गएकी थिइन् ।
माइतबाट घर गएको करिव ४० मिनेटपछि राति ९ः१४ मा अमृताले म्यासेजमा लेखेकी थिइन्–‘माइतीले भन्छन् घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो ? घर न घाटको अब त्यो चेली कहाँ जाने ?’
दाजु पुष्पकले उपलब्ध गराएको म्यासेजको स्क्रिन सटमा अमृताले लेखेकी छन्– ‘दाइ म मर्न चाहन्न, म यहाँ बस्न नि सक्दिन, दाइ हजुरको बोझ नि हुन चाहन्न, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन्छु ।’
दाइले प्रतिउत्तर दिए,‘ भोलि भाञ्जा लिएर आइज, कुरा गरौंला भनेका थिए ।’ दाजु बहिनी बीचको यो संवाद अन्तिम थियो । पुष्पकले बहिनीलाई तत्काल फोन गरे तर फोन स्वीच अफ थियो । उता अमृताले विष सेवन गरेको भन्दै श्रीमान् प्रेम टण्डनले लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पु¥याइएको थियो । अस्पतालले ९ बजेर ५० मिनेटमा अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको थियो । अमृताले केही महिनादेखि तिलोत्तमा नयाँ मिलस्थित फर्निचर उद्योगमा लेखापालको काम गर्दै आएकी थिइन् ।
माइती पक्षले अमृताले विष सेवन गर्ने कुनै आधार नभएको भन्दै योजनाबद्ध हत्या गर्न विष सेवन गराएको हुन सक्ने बताएको छ । ‘छोेरीले मर्ने कुरा कहिल्यै गरिन, बरु छुट्टिएर एक्लै बस्छु भन्थी’, आमा सावित्राले भनिन्–‘यो आत्महत्या हुँदै होइन ।’
मृतकका माइती पक्षले प्रहरीले सुरुदेखि नै अनुसन्धान फितलो बनाउन खोजेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीको भूमिकाप्रति आशंका व्यक्त गरेका छन् । ‘अनुसन्धान र डीएसपीको भूमिकाप्रति हामीलाई चित्त बुझेको छैन, शंका लागेको छ’, मृतकका दाजु पुष्पकले पत्रकारहरुसँग भने–‘घटनाको सीआईबी टोलीबाट उच्चस्तरीय छानबिन हुनुपर्छ ।’
माइतीमा रहेकी अमृतालाई पटकपटक फोन गरेर बोलाउनु, विष सेवन गरेको भने पनि सुरुमा माइती र छिमेकीलाई खबर नगरी सिधै अस्पताल पु¥याउनु र मृत्यु भएपछि मात्र माइतीलाई जानकारी दिनुले योजनाबद्ध हत्या भएको माइती पक्षको दाबी छ ।
नौ वर्षअघि प्रेम विवाह गरेकी अमृतालाई श्रीमानसँगै सासु र ससुरा समेतले सुरुदेखि नै हेला गर्ने र यातना दिने गरेको मृतकका दाजु पुष्पक बताउँछन् । विवाह भएको एक वर्षपछि प्रेम र अमृताको एक छोरा जन्मेको थियो ।
मृत्यु हुनु अघिल्लो दिन पनि श्रीमान् प्रेमले अमृतालाई हातपात गरेको र भारत जान दबाब दिँदा अमृताले अस्वीकार गरेको माइती पक्षको भनाइ छ । अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ र अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन । पोष्टमार्टमका लागि शवलाई काठमाडौं लैजान माइती पक्षको माग छ । उनको मृत्यु किटनाशक विषादी डीडी फैक्सको प्रयोगबाट भएको चिकित्सकलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
भारतमा मात्र पाइने र नेपालमा खुल्ला रुपमा बिक्री गर्न नपाइने यो विषादी अमृतासम्म कसरी आइपुग्यो भन्नेमा माइती पक्षले प्रश्न उठाएको छ । राति घर फर्किएकी अमृता आफैले विष लिएर सेवन गर्ने अवस्था नभएकोले घरपरिवारले नै सुनियोजित रुपमा विष सेवन गराएको हुन सक्ने माइती पक्षको दाबी छ ।
अमृताको माइतीको किटानी जाहेरीपछि प्रहरीले अमृताका श्रीमान प्रेमलाई बुधबार राति र सासु ससुरालाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।
