लिफ्ट सिँचाइले मैनार गाउँमा फर्किएको खुसी


राम अवतार चाैधरी
कपिलवस्तु, 



स्थानीय सरकार आएदेखि केही बर्ष यता तीनवटै तहकाे सरकारले कृषि क्षेत्रमा युवाहरुलाई प्राेत्सहन गर्न विभिन्न कार्यक्रम ल्याउने गरेकाे छ । सम्बन्धित निकायले अनुदान तथा साैलिहियत ऋण लगायतकाे व्यवस्थापन गरि उत्पादन बढाउन प्राथमिकता दिएकाे पाइन्छ ।

खासगरी ग्रामीण भेगका आम नागरिक एवम् वास्तविक कृषकलाई पहिचान गरि बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक कार्यमा लगानी गर्न आवश्यक छ । कृषि क्षेत्रका लागि सरकारले उचित बजेट विनियोजन र भएकाे पानीलाई व्यवस्थापन गर्न नसक्दा कृषकले चाहे जतिकाे लाभ वा उत्पादन गर्न सकेका छैनन् । तसर्थ बाहिरकाे देशबाट भित्रिएको खाद्यान्न आयातबाट जीवन निर्वाहसमेत गर्दै आएका सर्वविधितै नै छ । पछिल्लो समय नेपाल सरकार संघीयतामा आएपछि कृषि विकास र उपजमा फड्को मारेकाे छ ।



यस्तै जिल्लाको शिवराज नगरपालिका भित्र पर्ने एक दुर्गम गाउँ हाे मैनार । नगरपालिकाको पूर्व पश्चिम राजमार्गमा पर्ने जिल्लाकै ठूलाे बजार मानिने चन्द्राैटा बजारदेखि करिब ७ कलाेमिटर वडा नम्बर ३ काे घनाजङ्ग भित्र पर्दछ । त्यहाँ खेतीयोग्य जमिन प्रयाप्त रहेपनि पानीकाे उचित व्यवस्थापन नहुँदा जटिलता हुँदै आएकाे थियाे । तर अहिले गाउँमा नगरकै ठुलाे लिफ्ट सिँचाई योजना केही दिन अघि सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् ।

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीकाे पहलमा प्रदेश सरकारकाे २ कराेड १५ लाख रुपैयाँकाे लागतमा सिँचाइ आयाेजना सञ्चालनमा आएकाे उपभोक्ता समितले जनाएको छ । कपिलवस्तुकै दुर्गम क्षेत्रमा रहेको उक्त गाउँमा सिँचाईकाे व्यवस्थापन भएपछि खेती योग्य जमिन बाँझाे राख्नुपर्ने बाध्यता हटेको छ । मकै, खुर्सानी, टमाटर, भिन्डी, करेला, बाेडी, लाैका, प्याज लगायतका तरकारी खेती किसानले गरेका छन् । राेजगारीका लागि टाढा जानुपर्ने बाध्यताले पिडित थियाे । सिँचाइकाे व्यवस्थापन भएदेखि कृषक बिहान उठे देखि खेतीपातीमा व्यस्त हुने गर्छन् । जसमध्ये कतिपय कृषकले व्यवसायिक रुपमा खेतीपातीकाे सुरुवात गरेकाे समेत पाइन्छ ।

उपभोक्ता समितिका अध्यक्ष कल्लुराम थारुले मैनार गाउँलाई अब कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने बताए । यहाँका किसानहरुलाई सिँचाईकाे व्यवस्थापन भएकोले कृषि पेसामा जोड दिएकाे उनले जनाए । अध्यक्ष थारुका अनुसार ५० हेक्टर जग्गा सिँचाइ गर्न सकिने र ४० बढी घरधुरीले मैनार गाउँमा लाभान्वित हुनेछन् । सबै गाउँका किसानले कृषि पेसामा संलग्न रहेकाेले आत्मनिर्भर हुनुकाे साथै पुरै गाउँकाे मुहार फेरिने दाबी छ ।

यस्तै आशाराम थारुले बाख्रा पालन व्यवसायको लागि उचित ठाउँ रहेको बताए । अब कृषि पेशाले यस गाउँका जनताको आर्थिक विकासमा टेवा पुग्ने बताउँदै व्यवसायीकरण गर्दै जानुपर्नेमा उनले जाेड दिए । थारु समुदायको बाहुल्यता रहेको मैनार गाउँलाई चाैतर्फी विकासमा टेवा पुग्ने र कृषि पेसाका लागि विकास गर्न सकिने थुप्रै आधारहरु रहेको उनको भनाई छ । स्थानीय सम्बन्धित निकायसँग उत्पादनवस्तु लागि थप बजारीकरण व्यवस्थापनका लागि थारुले आग्रह गरे ।

त्यसैगरी स्थानीय प्रसदीया थारुले मैनार गाउँ पिछडिएको गाउँ भए पनि आत्मनिर्भर हुने बाटाेकाे सुरुवात भएकाे बताइन् । सिँचाइकाे याेजनाका लागि प्रदेश सरकारबाट पहल गर्ने प्रदेश सदस्य अर्जुन कुमार केसी र ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले सराहनीय कार्य गरेकाे भन्दै धन्यवादसमेत उनले व्यक्त गरेकी छन् । सरकारले कृषिलाई नै प्राथमिकता दिए किसान आत्मनिर्भर हुनुकाे साथै सहजरूपमा व्यवसायीकरण गर्न सकिने उनले जिकिर गरिन् ।

स्थानीयका अनुसार गाउँ जोड्ने सडकमा पुल निर्माण तथा सडकलाई स्तरउन्नती, बिजुली लगायतका काम भएकोले आगामी समयमा पनि मैनार गाउँको विकासका लागि स्थानीय सरकारले थप आवश्यक पुर्वाधार विकासका निरन्तरता दिनसमेत अनुरोध गरेका छन् । अहिले विभिन्न तरकारी र अन्नबाली लगाउने साथै बेमौसमी तरकारी तरकारी उत्पादन गर्ने तयारीमा जुटेको वडा सदस्य बुझावन थारु बताउँछन् ।



सम्बन्धित
Loading...