नयाँ मूल्य सुची :पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसाले घट्यो


काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।अप्रिल १६ मा पठाएको मूल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।



डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ । नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ४ अर्ब ६९ करोड नोक्सान छ ।

यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्य सूची पठाएको थियो ।उता सरकारले सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चिती घट्दै गएकोले ३० चैत गते बसेको




मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो। अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुँदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशत कटौती गर्ने उल्लेख छ। त्यसमा कटौती गर्ने सरकारले निर्णय गरेको हो।

आज अर्थ मन्त्रालयबाट जारी सूचनामा इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघसंस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने उल्लेख छ। यो निर्णय विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागू नहुने सूचनामा जनाइएको छ।

छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीको इन्धन सुविधा पनि २० प्रतिशतले कटौती गर्न अनुरोध गर्ने सरकारले निर्णय गरेको छ। यो निर्णय हाललाई २०७९ असार मसान्तसम्म लागू हुने सूचनामा जनाइएको छ।

 



सम्बन्धित
Loading...