फ्री-फायर गेमबाट चिनजान, बिहेको आश्वासन दिएर १३ वर्षीया बालिकामाथि बलात्कार!




फ्रि-फायर गेममार्फत् नाबालिकासँग चिनजान गरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 

१३ वर्षीय नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रागिरि नगरपालिका-८ स्थित मातातीर्थबाट २७ वर्षीय महेश उदासलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

 




मैनालीका अनुसार १३ वर्षीया बालिका हराएको हुँदा खोजी पाऊँ भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए।

 

त्यसबारे काठमाडौं परिसर, मातहत वृत्त र प्रभागहरूले बालिकाको खोजी थालेको थियो। प्रहरीले विभिन्न विधिको प्रयोग गरी उदासलाई मातातीर्थमा फेला पारि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बालिका र उदासको चिनजान अनलाइन गेम फ्री-फायरबाट भएको थियो। उनीहरू एक वर्षदेखि फ्री-फायर गेम खेल्थे।

पछि उनीहरूबीच फेसबुक, मेसेन्जरमार्फत् कुराकानी हुन थालेको प्रहरी उपरीक्षक मैनालीले बताए।

 

विवाहको आश्वासन दिएर चैत २९ गते पाल्पाबाट उदासले नाबालिगलाई मोटरसाइकलमा राखेर काठमाडौं ल्याएका थिए।

 

चैत ३० गते राति काठमाडौंको टोखा नगरपालिका-६ बसुन्धारास्थित होटलमा लगेर बालिकामाथि बलात्कार गरेको आरोप छ।

प्रहरीले जाहेरी दिएसँगै महाराजगन्जस्थित प्रहरी वृत्तले अनुसन्धान अघि बढाएको बताएको छ।



सम्बन्धित
Loading...