सौराहानिकटको थारुबस्तीको पीडा : थारु समुदायले दिए भोट, नेताले दिएनन् सडक




रत्ननगर नगरपालिका वडा नं–६ अन्तर्गत पर्ने उपरदाङ बस्ती चुनावको बेला चर्चामा आउने गरेको छ । दोरङ्गी गाउँको बीच भागमा रहेको सो बस्तीमा थारु समुदायको बसोवास छ । १४ घरधुरी रहेको सो बस्तीमा ६० जना मतदाता रहेका छन् ।

 

दोरङ्गीमै रहेको धामी टोल अर्को थारुबस्ती हो । २२ घरधुरी रहेको सो टोलमा १२० जना मतदाता रहेका छन् । उपरदाङ बस्ती र धामी टोलमा रहेको मत रत्ननगर–६ मा चुनाव जित्न निर्णायक मानिँदै आएको छ ।

 




२०७४ सालमा ती दुई बस्तीका आदिवासी थारु समुदायलाई प्रलोभनमा पारेर राजनीतिक दलका उमेदवारहरुले चुनाव जित्दै आएका छन् ।

 

उपरदाङ बस्ती र धामी टोलका थारु समुदायले जुन उमेदवारलाई भोट दिन्छन् उसैको विजय हुँदै आएको पनि छ । तर, उपरदाङ बस्तीका बासिन्दाको पीडा अर्कै छ ।

 

४२ वर्षअघिदेखिको पुरानो थारुबस्तीमा जाने अझै बाटो छैन । बिरामी हुँदा एम्बुलेन्स जाने सडक नहुँदा बिरामी बोकेर मूल सडकसम्म ल्याउनुपर्ने बाध्यकारी अवस्था छ । नक्सामा उल्लेखित सडक नहुँदा सो बस्तीका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

 

स्थानीय दुई जनाको निजी जग्गामा बनाइएको आलीबाट त्यहाँका बासिन्दाहरु आवतजावत गर्दै आएका छन् । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेताहरुले सडक बनाइदिने आश्वासन दिएर भोट माग्दै आएका छन् ।

 

अघिल्लो स्थानीय निर्वाचनमा उमेदवार र उपरदाङ बस्तीका बासिन्दाहरुबीच बाटो बनाउने लिखित सहमति गरिएको थियो, तर उक्त स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले सो बस्ती जाने सडक निर्माण गर्न सकेनन् ।

 

‘त्यतिबेलाका वडाध्यक्षका उमेदवारले सडक बनाइदिन्छु, भोट दिनुहोस् भनेका थिए’, स्थानीय जेना महतोले भने, ‘निर्वाचन जितेपछि बस्तीमा पाइला टेक्न पनि आएनन् ।’

 

निर्वाचनको बेला उपरदाङ बस्ती र धामी टोल दलहरुको कब्जामा हुन्छ । दुई बस्तीका बासिन्दालाई फकाउन दलका प्रतिनिधिहरु रातदिन बस्तीमै बस्छन् । एउटा दलका उमेदवारहरुले भोट मागेको बेला अर्को दलका उमेदवार त्यहाँ पुगे भने कार्यकर्ताहरुबीच झडपसमेत हुने अवस्था आउने गरेको छ ।

 

‘चुनावको बेला साँझ पर्नै हुँदैन’, बस्तीका फुलेन्द्र चौधरीले भने, ‘दलका नेता तथा कार्यकर्ताले बस्ती भरिन्छ ।’

 

दलहरुका प्रतिनिधिहरु मत सुरक्षाका लागि बस्तीकेन्द्रित हुने गरेका छन् । ‘४० वर्षदेखि सडक निर्माणका लागि आश्वाशनमात्रै पाइयो’, चौधरीले भने, ‘तर कसैले सडक बनाएन ।’ मूल सडकबाट बस्तीमा पुग्न ६० मिटर सडक निर्माण गर्नुपर्ने छ ।

 

निजी जग्गा भएका कारण जनप्रतिनिधिलाई सडक निर्माणमा सधैँ अवरोध हुने गरेको छ । जग्गाधनीसँग सहमति गरेर सडक निर्माण गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि जनप्रतिनिधिले ध्यान नदिएको चौधरीले बताए ।

 

उपरदाङ बस्तीका बासिन्दाहरुलाई दलहरुले वर्षौंदेखि भोट बैंकका रुपमा प्रयोग गर्दै आएका छन् । सडक बन्ने आशैआशमा वर्षौंदेखि भोट हाल्दै आएका यहाँका बासिन्दा यसपटक भने सचेत भएका छन् ।

 

‘यहाँका थारु समुदायलाई दलहरुले सधैँ भोट बैंकका रुपमा हेरिरहे’, स्थानीय कानन महतोले भने, ‘अब सोचविचार गरेरमात्रै काम गर्ने नेतालाई भोट दिन्छौँ ।’

 

उनले यसपटकको निर्वाचनमा पनि सडक निर्माण गरिदिने भन्दै दलका उमेदवारहरु भोट माग्न आएको बताए । सो वडामा पर्यटकीय नगरी सौराहासमेत रहेको छ ।

 



सम्बन्धित
Loading...