नवलपुरः काँग्रेसको गढ बौदीकाली, बुलिङ्गटारमा एमालेको अग्रता




रामकुमार श्रेष्ठ –

नवलपुर । यस अघि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद जित हात पारेको काँग्रेसको गढको रुपमा हेरिएको नवलपुरको पहाडी गाउँपालिका बुलिङ्गटार र बौदीकालीमा नेकपा एमालेले अग्रता लिएको छ ।




यस अघि ६ वटै वडा जितेको बुलिङ्गटार गाउँपालिकामा वडा नं. १, २ र ३ को मत गणना सकिंदा वडाध्यक्षहरुमा नेपाली काँग्रेसले जित हात पारे पनि गाउँपालिका अध्यक्षमा भने नेकपा एमालेको अग्रता रहेको छ ।

नेकपा एमालेका दिपेन्द्र सुनारीले ३ वटा वडाको मतगणना सकिंदासम्म १२३४ मत प्राप्त गरेका छन् । यहाँ यस अघि काँग्रेसका शशिकिरण बस्ताकोटीले जित हात पारेका थिए । उनी अहिले पनि काँग्रेसबाट गाउँपालिका अध्यक्षको चुनावी मैदानमा छन् । उनले अहिलेसम्म ११७९ मत प्राप्त गरेका छन् । काँग्रेसका उम्मेदवार बस्ताकोटी भन्दा सुनारी ५५ मतको झिनो मत अन्तरले अगाडि रहेका छन् ।
यहाँ गाउँपालिका उपाध्यक्षमा भने काँग्रेसको अग्रता कायमै रहेको छ । काँग्रेसका दिलमाया रानाले उपाध्यक्षमा १३४६ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेकी भूमिका खण्डलुकले १००८ मत प्राप्त गरेका छन् ।
यहाँ वडाध्यक्षमा बुलिङ्गटार १ बाट काँग्रेसका दिलबहादुर सुर्यबंशीको एकल प्यानल, २ बाट काँग्रेसकै कमल राज वकावल मगरको प्यानल र ३ बाट विष्णु वीर जर्घा मगरको प्यानल विजयी भएको छ ।

बौदीकालीमा एमालेको अग्रता
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेले अग्रता लिएको छ । ५ वटा वडाको मत गणना सकिएको बौदीकाली गाउँपालिकामा वडा नं. १ को अहिले मतगणना जारी रहेको छ ।

यस अघिको निर्वाचनमा बौदीकाली गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडामा जित हात पारेको थियो । अहिले ५ वटा वडाको मतगणना सकिंदासम्म काँग्रेसले २ र एमालेले ३ वटा वडामा जित हात पारेको छ ।

बौदीकाली गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझाले ३३७१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका खड्कबहादुर रानाले ३०८९ मत प्राप्त गरेका छन् । ओझाले २८२ मतले अग्रता लिएका छन् । अहिले मतगणना भईरहेको वडा नं. १ मा यस अघि नेपाली काँग्रेसले जित हात पारेको क्षेत्र हो ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी डिलकुमारी केसी सारुले ३३६८ मत प्राप्त गरेकी छिन् भने एमालेकी धनकान्ती घिमिरेल ३०५४ मत प्राप्त गरेकी छिन् । केसीले ३१४ मतको अग्रता लिएकी छिन् ।

 

जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार बौदीकाली २, ३ र ५ मा नेकपा एमालेले जित हात पारेको छ भने ४ र ६ मा काँग्रेसले जितेको छ ।
बौदीकाली २ मा नेकपा एमालेको श्याम सुन्दर श्रेष्ठको प्यानल विजयी भएका छन् भने बौदीकाली ३ मा नेकपा एमालेकै तेजबहादुर थापाको प्यानल विजयी भएको छ ।
बौदीकाली ४ मा नेपाली काँग्रेसका मनबहादुर सारु मगर वडाध्यक्षमा निर्वाचित भएका छन् । यहाँ वडाध्यक्ष सहित काँग्रेस प्यानल नै विजयी भएको छ ।
बौदीकाली ४ मा वडाध्यक्षमा काँग्रेसका मनबहादुर सारुले ८६८ मत प्राप्त गर्दा एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गरे ।

बौदीकाली ५ मा भने नेकपा एमालेको प्यानल नै वियजी भएका छ । बौदीकाली पाँचमा वडाध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा खरु मगर विजयी भएका हुन् । उनले ४६२ मत प्राप्त गरी जित हात पारेका हुन् भने नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर अस्लामी मगरले ३७४ मत ल्याए ।

त्यसैगरी बौदीकाली गाउँपालिका ६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । बौदीकाली ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका खुमकुमार सारु मगर विजयी भएका हुन् ।
उनले ७२१ मत प्राप्त गरी जित हात पारेका हुन् । त्यसैगरी उनको निकटम् प्रतिद्वन्दी नेकपा एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे ।

यस अघिको स्थानीय तह निर्वाचनमा काँग्रेसले १, ३ र ४ नेकपा एमालेले २, ५ र ६ नम्बर वडा जितेको थियो ।
बौदीकाली गाउँपालिकामा ११ हजार ४९७ मतदाता रहेकोमा ७७६३ अर्थात ६७ दशमलब ५२ प्रतिशत मात्र मत खसेको थियो ।



सम्बन्धित
Loading...