नवलपुरः बौदीकालीमा काँग्रेसको किल्ला तोड्दै, एमाले विजयी


 



रामकुमार श्रेष्ठ  –

नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा काँग्रेसको किल्ला तोड्दै नेकपा एमाले विजयी भएको छ । यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडामा नेकपा एमालेले जित हात पारेको छ ।




बौदीकाली गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझाले ३९७६ मत प्राप्त गरेका छन् । ओझाका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका खड्कबहादुर राना (केवी राना) ले ३५४१ मत ल्याएका छन् । ओझा ४३५ मत अन्तरले गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी डिलकुमारी केसी सारु विजयी भएकी छिन् । उनले ३९६२ मत प्राप्त गरेका छन् भने उनका निकतम् प्रतिद्वन्दी नेपाली काँग्रेसकी धनकान्ती घिमिरेले ३५०६ मत प्राप्त गरेका छन् ।

 

यस अघिको निर्वाचनमा बौदीकाली गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडामा जित हात पारेको थियो । अहिले काँग्रेसले २ र एमालेले ४ वटा वडामा जित हात पारेको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार बौदीकाली १, २, ३ र ५ मा नेकपा एमालेले जित हात पारेको छ भने ४ र ६ मा काँग्रेसले जितेको छ ।

बौदीकाली १ मा नेकपा एमालेका अनिल थापा मगर वडाध्यक्षमा विजयी भएका छन् । उनले ६०२ मत प्राप्त गरे भने नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार टोलनाथ कंडेलले ४६३ मत प्राप्त गरे । बौदीकाली १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको हो ।

त्यसैगरी बौदीकाली २ मा नेकपा एमालेको श्याम सुन्दर श्रेष्ठको प्यानल विजयी भएको छ । श्रेष्ठले वडाध्यक्षमा ११३५ मत प्राप्त गर्दा उनका निकतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका हेमराज ओझाले ७२५ मत प्राप्त गरे ।

 

बौदीकाली ३ मा नेकपा एमालेकै तेजबहादुर थापाको प्यानल विजयी भएको छ । थापाले वडाध्यक्षमा ६२० मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका कुलबहादुर ठाडा मगरले ५१९ मत प्राप्त गरे ।

 

बौदीकाली ४ मा नेपाली काँग्रेसका मनबहादुर सारु मगर वडाध्यक्षमा निर्वाचित भएका छन् । यहाँ वडाध्यक्ष सहित काँग्रेस प्यानल नै विजयी भएको छ ।
बौदीकाली ४ मा वडाध्यक्षमा काँग्रेसका मनबहादुर सारुले ८६८ मत प्राप्त गर्दा एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गरे ।

 

बौदीकाली ५ मा भने नेकपा एमालेको प्यानल नै वियजी भएका छ । बौदीकाली पाँचमा वडाध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा खरु मगर विजयी भएका हुन् । उनले ४६२ मत प्राप्त गरी जित हात पारेका हुन् भने नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर अस्लामी मगरले ३७४ मत ल्याए ।

 

त्यसैगरी बौदीकाली गाउँपालिका ६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । बौदीकाली ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका खुमकुमार सारु मगर विजयी भएका हुन् ।
उनले ७२१ मत प्राप्त गरी जित हात पारेका हुन् । त्यसैगरी उनको निकटम् प्रतिद्वन्दी नेकपा एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे ।

यस अघिको स्थानीय तह निर्वाचनमा काँग्रेसले १, ३ र ४ नेकपा एमालेले २, ५ र ६ नम्बर वडा जितेको थियो ।
बौदीकाली गाउँपालिकामा ११ हजार ४९७ मतदाता रहेकोमा ७७६३ अर्थात ६७ दशमलब ५२ प्रतिशत मात्र मत खसेको थियो ।



सम्बन्धित
Loading...