कावासोती प्रमुख, उपप्रमुखमा एमालेको अग्रता कायमै

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै राखेको छ ।
अहिलेसम्म कावासोती १, २, १६ र १७ को मतगणना सकिएको छ भने कावासोती १५ को १००१ र कावासोती ३ को २२०० मत गणना सकिएको छ ।
नगर प्रमुखमा एमालेका विष्णु भुसालले ७७४२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका महेन्द्र पोख्रेलले ७११७ मत प्राप्त गरेका छन् । एमालेका भुसाल काँग्रेसका पोख्रेल भन्दा ५४५ मतले अगाडि रहेका छन् ।
कावासोती नगरपालिकाका १, २, १६ र १७ को अन्तिम मतपरिणम आउँदासम्म नगरप्रमुखमा राप्रपाका गुणाखर काफ्लेले २१२, राष्ट्रिय जनमुक्ति पार्टीका बुद्धिबहादुर सारुले ६७, विवेकशील पार्टीका केशवप्रसाद अधिकारीले १६, स्वतन्त्र उम्मेदवार अमित विश्वकर्माले १५, सामाजिक एकता पार्टीका धनबहादुर लामाले १२, स्वतन्त्र उम्मेदवार माधवप्रसाद लम्सालले ९ र मंगोलनेशनल अर्गनाइजेशनका गोपाल गुरुङले ४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नगरउपप्रमुखमा नेकपा एमालेकी फुलकुमारी थनेतले ७८८५ मत प्राप्त गरेकी छिन् भने माओवादी केन्द्रका पतिराम थनेतले ५३५९ मत प्राप्त गरेका छन् । एमालेकी थनेत उपप्रमुखमा अहिलेसम्म माओवादी केन्द्रका पतिराम थनेत भन्दा २५२६ मतले अगाडि रहेका छन् ।
त्यसैगरी उपप्रमुखमा राप्रपाले ३२२ र जनुमक्ति पार्टीले ८८ मत प्राप्त गरेका छन् ।
वडागत परिणाम

४ वटा वडाको मत गणना सकिंदासम्म २ वटा वडामा एमालेले, १ वटा वडामा काँग्रेसले र १ वटा वडामा माओवादी केन्द्रले जित हात पारेको छ ।
कावासोती १ मा यस अघि नेपाली काँग्रेसले प्यानललै जितको भए पनि अहिले एक वडा सदस्य बाहेक सबै पद गुमाएको छ ।
कावासोती १ को वडाध्यक्षमा नेकपा एमालेका तापारक अहमद मिया विजयी भएका छन् । उनले १७१७ मत पाएका छन् उनका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका माधवप्रसाद भण्डारीले १४१८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कावासोती १ मा एमालेका ओमबहादुर थापा र नेपाली काँग्रेसका पूर्णबहादुर चितौरे मगर विजयी भएका छन् । त्यसैगरी महिला वडा सदस्यमा नेकपा एमालेकी सिमा रिकम कानुन र दलित महिला सदस्यमा रेखा कुमारी सुनार विजयी भएका छन् ।
यता कावासोती १७ मा नेकपा एमालेको प्यानललै विजयी भएको छ । कावासोती १७ यस अघि पनि नेकपा एमालेले जित हात पारेको क्षेत्र हो ।
कावासोती १७ का वडाध्यक्षमा नेकपा एमालेका चुरामणी थनेत विजयी भएका छन् । थनेतले १८९४ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका नन्द किशोर आचार्यले १७१८ मत प्राप्त गरे ।
त्यसैगरी कावासोती १७ को खुल्ला सदस्यहरुमा एमालेका मीनबहादुर महतो र डुलबहादुर गुरुङ विजयी भएका छन् । महिला सदस्यमा एमालकै भोजकुमारी महतो र दलित महिला सदस्यमा एमालेकी गीता विक विजयी भएका छन् ।
त्यसैगरी कावासोती १६ मा जित हात पार्दै कावासोती नगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ ।
कावासोतीमा कावासोती १६ बाट मात्र माओवादीले वडाध्यक्षमा उम्मेद्वार उठाएको थियो ।
गठबन्धन तर्फका उम्मेद्वार तथा माओवादी केन्द्रका तर्फबाट कावासोती १६ को वडाध्यक्षका उम्मेद्वार आनन्द श्रेष्ठ विजयी भएका हुन् । आनन्द श्रेष्ठले १५७२ मत प्राप्त गरि विजय हुँदा एमालेका शिव गिरीले वडाध्यक्षमा ११३८ मत प्राप्त गरे ।
अन्यमा दुई सदस्य माओवादी केन्द्रबाट एक सदस्य जनमोर्चा र एक सदस्य नेपाली काँग्रेसबाट गठबन्धनको प्यानल सहित विजय हासिल भएको छ । कावासोती १६ का वडासदस्यमा काँग्रेसका खिमनाथ धरेल, राष्ट्रिय जनमोर्चाका कृष्ण गिरी, महिला सदस्यमा माओवादी केन्द्रका लक्ष्मी सुनार, दलित महिला सदस्यमा माओवादी केन्द्रका उषा खत्वे विजयी भएका छन् ।
यता कावासोती २ को वडाध्यक्षमा नेपाली काँग्रेसका शिवप्रसाद पाण्डे विजयी भएका छन् । उनले १४०९ मत प्राप्त गरे भने एमालेका वडाध्यक्षका उम्मेदवार लक्ष्मीप्रसाद पौडेलले १२८९ मत प्राप्त गरे ।
सदस्यहरु काँग्रेसका जंगबहादुर गुरुङ, तिलकराम काफ्ले, महिला सदस्यमा एमालेका समन्ती सारु मगर र दलित महिला सदस्यमा एमालेकै अस्मति विक निर्वाचित भएका छन् ।
अहिले कावासोती ३ र कावासोती १५ को मगगणना चलिरहेको छ । कावासोती ३ मा २२०० मत गन्दासम्म एमालेले ५ सय बढी मत अन्तरले अग्रता लिएको छ भने कावासोती १५ मा १००१ मत गन्दासम्म काँग्रेस माओवादी गठबन्धनले १५० बढीले अग्रता लिएको छ ।
सम्बन्धित समाचार