हार्ने संकेत देखिएपछि जगरनाथपुरमा एमालेद्वारा मतगणना बहिष्कार




वीरगञ्ज । पञ्चायत कालदेखि नै विभिन्न तरिकाले राजनीतिक पद ओगट्दै आएको पर्साको मियाँ परिवारले स्थानीय तह निर्वाचनमा आफ्नो उमेदवार हार्ने संकेत देखेपछि मतगणना बहिष्कार गरेको छ ।

 

आफ्नो उमेदवारले हार्ने संकेत देखिएपछि मियाँ परिवारले पर्साको जगरनाथपुर गाउँपालिकामा जारी मतगणना बहिष्कार गरेको हो ।

 




मतपेटिकामा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएको भन्दै मियाँ परिवारले मंगलबार दिउँसोदेखि मतगणना बहिष्कार गर्दा त्यहाँ मतगणना रोकिएको थियो ।

 

मियाँ परिवारका प्रमुख एवं जगरनाथपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जालिम मियाँले आज वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेले जगरनाथपुर गाउँपालिकाको मतगणना बहिष्कार गर्ने बताए  ।

 

अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट जगरनाथपुरको अध्यक्ष जितेका मियाँले यसपटक एमाले प्रवेशसँगै आफ्नो भाइ महमद सलिम मन्सुरलाई नेकपा एमालेबाट उम्मेदवार बनाएका थिए । तर मतपरिणाम आफ्नो पक्षमा आउने संकेत नदेखेपछि उनले षड्यन्त्र गरेको नेपाली कांग्रेसका उमेदवार श्रीकान्त यादवले आरोप लगाए ।

 

मतगणनाको परिणाम हेर्दा पनि मियाँका भाइ मन्सुरले जित्ने संकेत देखिंदैन । ५ वटा वडामध्ये नम्बर १ र २ मा नेपाली कांग्रेसले जित्नुका साथै ३ मा पनि कांग्रेसले अग्रता लिइरहेको छ । वडा नम्बर ३ मा मियाँको गृहगाउँ पर्छ । त्यहाँ ११ सय वटा मत गणना गर्दा उनका भाइ मनसुर ३ सय मतले पछाडि परेका छन् ।

 



सम्बन्धित
Loading...